कङ्गोमा नेपाली शान्ति सैनिकको अदलीबदली, २३८ सैनिकको अन्तिम टोली प्रस्थान

कङ्गोमा नेपाली शान्ति सैनिकको अदलीबदली, २३८ सैनिकको अन्तिम टोली प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको टोली मंगलबार अदलीबदली भएको छ ।

संयुक्त राष्ट्रसंघीय मिसनमा आफ्नो सफल कार्यकाल पूरा गरी २३८ जना नेपाली शान्ति सैनिकहरू मंगलबार स्वदेश फर्किएका छन् भने सोही संख्याको नयाँ टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

मिसनमा कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फा र श्री भीमकाली गुल्म क्युआरएफ (शा.से.) चौथो डफ्फालाई बदली गर्नका लागि श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फा र श्री रणशुर गुल्म क्युआरएफ (शा.से.) पाँचौँ डफ्फाका २३८ जना सैनिकहरूको अन्तिम टोली मंगलबार कङ्गो प्रस्थान गरेको छ ।

त्यसैगरी, कङ्गोमा आफ्नो तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी २३८ जना नेपाली शान्ति सैनिकहरू मंगलबारै काठमाण्डु अवतरण गरेका छन् ।

अफ्रिकी महादेशको द्वन्द्वग्रस्त मुलुक कङ्गोमा शान्ति कायम गर्न नेपाली सेनाले लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हाल कङ्गोस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका कुल ९६९ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि खटिने नेपाली सैनिकहरूको व्यावसायिकता र अनुशासनको अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा हुने गरेको छ ।