मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टीम’ गठन

मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टीम’ गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्यपूर्वमा बढ्दो तनावका कारण संकटमा परेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले इमर्जेन्सी रेस्पोन्स टीम गठन गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधि सहभागी छन् ।

मन्त्रालयका सहसचिव श्री लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कुवेत, दुबई, एर्बिल लगायतका स्थानमा ट्रान्जिटमा रहेका नेपाली सुरक्षित छन् । इरानमा रहेका १० नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने बाँकी सुरक्षित रहेका छन् । केहीको रेसिडेन्सी कार्ड एक्सपायर भएकाले तुरुन्त फर्किन नसकिएको बताइएको छ ।

मन्त्रालयले नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन, स्थानीय तथा सरकारी निर्देशन पालना गर्न, अफवाहमा नपर्न र नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । कन्सुलर सेवा विभागले मध्यपूर्वमा रहेका नेपालीको विवरण संकलनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार, इरानले कुवेतमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि कुवेतमा ट्रान्जिटमा आएका ९० नेपालीलाई होटेलमा राखिएको छ । इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ ।

परराष्ट्र मन्त्रालयले संकटको समयमा सत्य तथ्य जानकारीको प्रवाहलाई उच्च प्राथमिकता दिएको बताएको छ । लगभग १७ लाखभन्दा बढी नेपालीको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले लगातार अपडेट र जानकारी प्रवाह गरिरहेको छ ।

मन्त्रालयले परिवार तथा समुदायलाई संयमित रहन र संवेदनशील स्थानमा नजान विशेष अनुरोध गरेको छ ।