रौतहट – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहट जिल्लाभर सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटका ४ वटै निर्वाचन क्षेत्रका १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएको छ ।
जिल्लाभर कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेको प्रशासनले पुष्टि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा म्यादी प्रहरीसहित करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली समेत खटाइएको छ ।
समानुपातिक तर्फको मत खसाल्न जिल्लाका ३ स्थानमा विशेष मतमेटिकाको व्यवस्था मिलाइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार गौरस्थित जिल्ला अदालतको चौरमा कर्मचारी र सुरक्षाकर्मीका लागि, इलाका प्रहरी कार्यालय गौरको ब्यारेक मैदानमा सुरक्षाकर्मीका लागि र गौर कारागारमा कैदीबन्दीहरूका लागि मतदानको व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि सुरक्षाको कडा प्रबन्ध मिलाइएको छ । मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् । संयुक्त सुरक्षा टोलीले जिल्लाभर गस्ती र पेट्रोलिङलाई समेत तीव्र पारेको सीडीओ भुसालले बताए ।
सीडीओ भुसालले कुनै पनि भय वा त्रास नमानी निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई आग्रह गरेका छन् ।




प्रतिक्रिया