काठमाण्डु – निर्वाचनको मुखमा पैसा बाँडेको र पैसा बोकेको आरोपमा धनुषा र सिरहामा दुई जना उम्मेखवार पक्राउ परेका छन् ।
धनुषा–मा मतदातालाई पैसा बाँड्ने एक स्वतन्त्र उम्मेखवार पक्राउ परेका हुन्। मंगलबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरमा मतदातालाई पैसा बाँडेको आरोपमा धनुषा–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई प्रहरीले पक्राउ गरेको हो।
उनी धनुषा–४ का उम्मेदवार रघुबिर महासेठका डमी उम्मेदवार हुन् । महासेठ एमालेका उपमहासचिव समेत हुन् ।
पक्राउ परेका महरा महासेठका चुनावी कार्यक्रममा जाने गरेको र उनकै लागि मत मागिरहेको स्थानीयले बताएका छन्।
उनलाई ४८ हजार ५ सय रुपैयाँ नगद र हिसाबकिताब गरिएको डायरीसहित प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी गणेशबहादुर बमले जानकारी दिए।
उनलाई थप कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय धनुषामा पठाइने डीएसपी बमले बताए।
यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा–३का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। मौन अवधिका बेला मंगलबार राति यादव नगदसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई मंगलबार राति शिवचोकमा संयुक्त चेकजाँचका क्रममा जाँच गर्दा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले गाडीबाट मतपत्र र रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाएको छ।




प्रतिक्रिया