काठमाण्डु– निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
बुधबार आयोगमा पत्रकार सम्मेलन गरेर आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरे।
उनले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारे ।
भण्डारीकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्याइसकिएको छ ।
मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताए ।
यस्तै उनले २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् ।
उनले प्रत्यक्षतर्फको सँगसँगै समानुपातिकतर्फको मतमणना पनि गर्ने तयारी भइरहेको उनले जानकारी दिए। समानुपातिक तर्फको मतपरिणाम पनि विगतभन्दा ठूलो हुने उनको भनाइ छ।




प्रतिक्रिया