निर्वाचन सम्बन्धी भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

निर्वाचन सम्बन्धी भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित भ्रामक र असान्दर्भिक सूचनाहरूप्रति नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक अपिल जारी गर्दै सेनाले यस्ता अतिरञ्जित खबरहरूमा विश्वास नगर्न र नगराउन आमजनसमुदायलाई हार्दिक अपिल गरेको छ ।

नेपाली सेनाले आफ्नो गैरराजनीतिक चरित्रलाई सदैव कायम राख्दै संविधान प्रदत्त जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै आएको स्पष्ट पारेको छ । ‘सेना सधैँ राष्ट्र र जनताको हितमा व्यावसायिक धर्म निर्वाह गर्न प्रतिबद्ध छ र यसको छविमा आँच पुर्‍याउने कुनै पनि दुष्प्रचारलाई ठाउँ दिनु हुँदैन,’ सेनाद्वारा जारी अपिलमा भनिएको छ ।

आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सेनाले एकीकृत सुरक्षा योजना अनुसार कार्य गरिरहेको जनाएको छ । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।

निर्वाचनको वातावरण बिगार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्प्रेषण गरिने भ्रामक सूचनाहरूले मतदातामा अन्योल सिर्जना गर्न सक्नेतर्फ सेनाले सचेत गराएको छ । सेनाले सम्पूर्ण नागरिकलाई कुनै पनि भ्रममा नपरी निर्धक्कसँग आफ्नो मताधिकार प्रयोग गर्न र शान्ति सुरक्षा कायम राख्ने कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

सेनाले निर्वाचनको सुरक्षा घेरालाई मजबुत बनाउन देशभरका रणनीतिक स्थानहरूमा आफ्नो उपस्थिति र गस्तीलाई समेत तीव्र पारिसकेको छ ।