काठमाण्डु– रौतहट निर्वाचन क्षेत्र नम्बर–१ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले उल्लेख्य अग्रता बनाउँदै अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् । चौधरी १,४९९ मतका साथ पहिलो स्थानमा सुरक्षित देखिएका छन् ।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा)का योगेन्द्र राय यादव छन्, जसले ६३१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार अजय गुप्ता ३९९ मतसहित तेस्रो स्थानमा संघर्षरत छन् ।
चौथो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार झा रहेका छन् । उनले ३६६ मत ल्याउँदा ‘हेभीवेट’ उम्मेदवार मानिएका माधव कुमार नेपाल भने मात्र ३२० मतका साथ पाँचौ स्थानमा सीमित भएका छन् ।
घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका रास्वपाका चौधरीले सुरुआती चरणदेखि नै भारी मतका साथ अग्रता लिँदा जिल्लाको राजनीतिक समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ ।
संसद छिर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका नेपालका लागि यो प्रारम्भिक नतिजा निकै चुनौतीपूर्ण र अप्रत्याशित बनेको छ ।
निर्वाचन आयोगका अनुसार मतगणना हाल शान्तिपूर्ण रूपमा जारी छ । अहिले केही वडाहरूको मात्र गणना सकिएको र बाँकी वडाहरूको परिणाम सार्वजनिक भएसँगै यो समीकरणमा फेरबदल आउन सक्ने अनुमान गरिएको छ । यद्यपि, रास्वपाको सुरुआती अग्रताले पुराना दलहरूलाई ठूलो दबाब सिर्जना गरेको छ ।




प्रतिक्रिया