इलाम १ : कांग्रेसका निश्कल राई विजयी

इलाम १ : कांग्रेसका निश्कल राई विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् ।

श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई हराउँदै राई निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार राईले १४ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६६२ मत ल्याए । तेस्रोमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याएका छन् ।

रास्वपाका विमल गदालले ९ हजार १६० मत ल्याएका छन् । राईको जीतसँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसको सिट संख्या १८ पुगेको छ ।

इलाम क्षेत्र नम्बर १ मा २०५६ सालबाहेक अन्य निर्वाचनमा कांग्रेसले जीत निकाल्न सकेको थिएन । २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईले झलनाथ खनाललाई हराएका थिए । वामपन्थीको पकड क्षेत्र इलाम–१ मा हालसम्म खनाल र महेश बस्नेत विजयी बन्दै आएका थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (२) का सभापति समेत हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हालेका उनी पूर्वक्षेत्रीय सहसचिव समेत भइसकेका युवा नेता हुन् ।

शंकरदेव क्याम्पस काठमाण्डुमा लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनी स्कूल–क्याम्पस इकाई हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।

उनी अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् ।