काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक राखे ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले कार्कीको विकल्प खोज्न थालेको र राजीनामाका लागि दबाब दिएको चर्चाबीच सबै प्रदेश प्रमुख अर्थात् डीआईजीहरूलाईसमेत बोलाएर त्यो बैठक राखिएको थियो।
बिहीबार दिउँसो २ बजेदेखि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बैठक साँझसम्मै तन्किएको थियो । उक्त बैठकपछि प्रहरी महानिरीक्षकको सचिवालयका नाममा केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले वक्तव्य जारी गरे। जुन वक्त्वयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचार तथा टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको थियो ।
जसमा अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाले आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना गर्न सक्ने तथा सुरक्षा जोखिम निम्त्याउन सक्ने उल्लेख थियो । यस्ता सूचनाले नागरिकको सेवामा समर्पित सुरक्षा संगठनप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पार्न सक्ने काफ्लेको जिकिर थियो ।
दिउँसो २ बजेदेखि चलेको बैठक राति ८ बजेमात्रै सकिएपछि काफ्लेले वक्तव्यमा केही सीमित व्यक्तिले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने काम गरेको दाबी गरेका थिए । उनले संगठनलाई विवादमा तानेर सरकारविरुद्ध गतिविधि गर्न सकिन्छ भन्ने सोच राखेको आरोप पनि लगाए ।
‘नेपाल प्रहरी सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध संगठन हो’, वक्तव्यमा भनिएको थियो, ‘संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने गतिविधिलाई कानुनी प्रक्रियाबाट सम्बोधन गरिनेछ।’
बिहीबार नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी)को बैठकमा भएका कुराकानी र विवादको चर्चा गर्नुअघि बुधबार आईजीपीले नै डाकेको भर्चुअल बैठकबारे पनि यहाँ चर्चा गर्नु उपयुक्त हुन्छ । उक्त भर्चुअल बैठक पनि आईजीपी कार्कीले सरकारकै मान्छेबाट आफूमाथि घेराबन्दी गर्न थालेको बुझेरै आयोजना गरेका थिए।
विशेष गरी नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल), आउँदै गरेको तिहार र छठलाई लक्षित गरी कार्कीले देशैभरका जिल्ला प्रहरी कार्यालयलाई समेत जोडेर उक्त बैठक राखेका थिए।
त्यस बैठकमा पनि कार्कीले संगठनभित्र अनुशासनहीनता र अराजकता बढ्दै गएको भन्दै असन्तुष्टि पोखेका थिए । एनपीएलमा हुने सट्टेबाजी रोक्न, तिहार र छठमा शान्तिसुरक्षा कडा बनाउन निर्देशन दिएपछि कार्कीले केही अधिकारीहरूको नामै लिएर संगठनमा कुनै किसिमको अराजकता नस्वीकार्ने बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादको सन्दर्भमा कार्कीलाई पनि बिदा गर्नुपर्ने मनस्थिति बनाएको उनी निकटस्थहरू बताउँछन्।
प्रहरी महानिरीक्षक कार्कीसँग विचौलिया भनिएका इनम सापकोटाको पनि सम्पर्क देखिएको भन्दै प्रमको सचिवालय विकल्पको खोजीमा लागेको चर्चाबीच नक्साल पनि आक्रमक रुपमा सक्रिय देखिएको हो ।
इनमसँगै जोडिएको आरोपमा प्रम कार्यालयकै निर्देशनमा गृहमन्त्रालयले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिसकेको छ। यही सन्दर्भमा आईजीपी कार्कीको पनि विकल्प खोज्न थालिएको कुरालाई बल दिने आधार वालेन्द्रले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेपछि मिलेको छ।
बुधबार बुढानीलकण्ठमा विचौलिया भनिएका इनमसँग उच्च सुरक्षा अधिकारी, सर्वोच्चका न्यायाधीशदेखि रास्वपाकै सांसदहरू पनि जोडिएकोबारे दुईजनाबीच ६ घण्टा लामो संवाद भएको थियो ।
त्यसपछि बुधबार नै मन्त्रिपरिषद् राख्ने तयारी थियो । तर बिहीबार पनि मन्त्रिपरिषद् बसेन। शुक्रबा बस्ने नबस्ने अझै टुंगो छैन। प्रम कार्यालयले दबाब बढाउन थालेकैले कार्कीले यसअघि पीसीसी बैठकमा सहभागी नहुने प्रदेश प्रमुखहरूलाई पनि यस पटक सहभागी गराएर संगठनमा एकता खोजेको अनुमान प्रहरी अधिकारीहरू नै गर्छन्।
यही पृष्ठभूमिमा बिहीबार बसेको पीसीसी बैठकमा प्रहरीका सबै उच्च अधिकारीहरूलाई एकैठाउँ ल्याएर सामूहिक आवाज दिने कोसिस कार्कीले गरेका थिए । त्यहीक्रममा बैठकमा कार्कीले प्रहरी संगठनविरुद्ध योजनावद्ध रुपमा मिडिया परिचालनसहितका गतिविधि हुने गरेको बताएका थिए ।
उनले संगठनमाथि हुने गरेका सबै किसिमका प्रहारविरुद्ध एकतावद्ध भएर जवाफ दिनुपर्ने कुरा उच्च प्रहरी अधिकारीहरूसमक्ष राखे । त्यस छलफलका क्रममा प्रहरी संगठनबारे प्रश्न उठेको तथा सरकारसँग पनि सम्बन्ध बिग्रिएको चर्चाबीच बरू प्रधानमन्त्री वालेन्द्र शाहलाई सामूहिक रुपमा भेट्नुपर्नेसम्मको कुरा पनि बैठकमा उठेको थियो ।
अर्कातिर स्रोतका अनुसार केही उच्च अधिकारीहरूले रास्वपा सांसद खगेन्द्र सुनारसहित विभिन्न आरोप लगाउँदै उठाइरहेको प्रश्नको पनि जवाफ खोजिनुपर्ने बताए । बैठकमा खासगरी प्रहरी महानिरीक्षक कार्कीमाथि व्यक्तिगत प्रश्न पनि उठिरहेकाले तिनको सबै भारी संगठनलाई नबोकाई सम्बन्धित मान्छे नै जिम्मेवार हुनुपर्ने कुरा पनि उठेको थियो।
तर ती सबै कुरामा आईजीपी कार्कीले सिधै उत्तर दिएनन्। उनले आफूसहित संगठनबारे उठेका प्रश्नबारे अमूर्त शैलीमा जवाफ दिँदै सांगठनिक एकता अहिलेको आवश्यकता रहेको व्याख्या गरेका थिए।
बैठकमा सहभागी एकजना उच्च प्रहरी अधिकारीका अनुसार खासगरी आईजीपी कार्की र एआईजीपी डा. मनोज केसीबीच सवाल-जवाफको अवस्था पनि बैठकमा देखियो । केसीले व्यक्तिमाथि उठेका प्रश्नको जिम्मेवार संगठनलाई बनाएर हिँड्नु अनुपयुक्त हुने धारणा राखेका थि ।
स्रोतका अनुासर केसीले प्रहरी संगठनविरुद्ध अहिले प्रहार भइरहेको अवस्थामा त्यसको सामूहिक रुपमा प्रतिवादको जरूरी रहेको बताए । तर उनले कसै एकजनामाथि लगाइएका आरोपबारे संगठनले जवाफ दिने भन्दा सम्बन्धित व्यक्तिले पहिले प्रष्ट पार्नु राम्रो हुने तर्क गरेका थिए ।
केसीले संगठनभित्र व्यक्तिगत रुपमा लाग्ने आरोपको जवाफ स्वयम् हुनुपर्ने तर्क गर्दा आईजीपी कार्की केही दबाबमा देखिए । तर उनले संगठनलाई कसैले प्रहार गरेको भए त्यसका लागि सबैजना एकजुट हुनैपर्ने पनि तर्क गरे।
कार्की र केसी सवाल-जवाफको अवस्थाबीच अन्य अधिकारीहरूले संगठनको हितका लागि सबैजना एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनीहरूले यदि सरकारसँगको सम्बन्धलाई लिएर प्रश्न उठेको भए प्रधानमन्त्रीसँग सामूहिक रुपमा भेटेर कुरा राख्न सकिने पनि सुझाए ।
उठेजति सबै प्रश्नको स्पष्ट रुपमा भन्दा घुमाउरो भाषामा जवाफ दिन उचित ठानेका आईजीपी कार्कीले नक्सालको उक्त उच्चस्तरीय बैठकमा आफूमाथि असुरक्षा भएको कुरा पनि सुनाए।
एक उच्च प्रहरी अधिकारीका अनुसार कार्कीले बैठकमा आफूलाई साथी र निकस्थहरूले असुरक्षा रहेका कारण एक्लै नहिँड्न पनि सुझाएको बताए ।
‘मलाई साथी र मेरा निकटस्थहरूले तपाईं असुरक्षित हुनु हुन्छ। तपाईंलाई जोखिम छ, त्यसैले एक्लै नहिँड्नुस् भन्नु हुन्छ’, कार्कीले बैठकमा राखेको भनाइबारे एक उच्च प्रहरी अधिकारीले काठमाण्डुपाटीलाई भने।
बिहीबार बसेको पीसीसी बैठकमा सातै प्रदेशका प्रहरी प्रमुखहरू सहभागी भएका थिए । प्रहरीको नीतिगत तहको निर्णय र छलफलका लागि राखिने यो बैठकमा यसअघि प्रदेश प्रमुखलाई बोलाइँदैनथ्यो । यस बैठककको अध्यक्षता आईजी कार्कीले गरे। बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीलाई सहभागी थिए।
बुधबार मात्रै कार्कीले देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखसहितसँग लामो भर्चुअल संवाद गरेका थिए । त्यस बैठकमा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहभागी थिए
उक्त भर्चुअल बैठकमा कार्कीले केही प्रहरी अधिकारीहरूको नामै लिएर संगठनमा अनुशासनहीनता बढेको भन्दै आक्रोश पोखेका थिए ।
आईजीपी कार्की र एआईजी राजन अधिकारीसँग बिचौलिया भनिएका इनाम सपकोटासँग सम्पर्क देखिएको कुरालाई प्रधानमन्त्री वालेन्द्रले गम्भीर रुपमा लिएको चर्चाबीच प्रहरी नेतृत्वले दुई दिन लगातार ठूला बैठक गरेको हो ।
सरकारले हटाउने तयारी गरेको चर्चाबीच दबाबमा परेका आईजीपी कार्कीले आफ्नो पक्षमा संगठनलाई एकताबद्ध बनाउने प्रयास यी दुई बैठकबाट गरेका छन्।


प्रतिक्रिया