शहीद परिवारलाई भेटेपछि सांसद खरेल : ‘जेनजी आन्दोलनको अपुरो सपना पूरा गर्छौं’

शहीद परिवारलाई भेटेपछि सांसद खरेल : ‘जेनजी आन्दोलनको अपुरो सपना पूरा गर्छौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा शहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् ।

मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका शहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् ।

भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफू निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन गएको बताए । जेनजीहरूकै बलिदानको जगमा आमजनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए ।

‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ । म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरूकै बलिदानको जगमा आमजनताले भोट दिएर सांसदमा चुनिएको छु,’ उनले भने ।

उनले जेनजी आन्दोलनका शहीद र प्रतिनिधिहरूले भ्रष्टाचारविरुद्ध, रोजगारी र समृद्धिको लागि गरेको आन्दोलनको अझै अपूरो रहेको धारणा राखे । जेनजी आन्दोलनको अपुरो क्रान्तिलाई अब रास्वपाको सरकारले पूरा गर्ने उनको दाबी छ ।

उनले भने, ‘जेनजी आन्दोलनका शहीद र जेनजी प्रतिनिधिहरूले जुन रूपमा आन्दोलन गरे, त्यो भ्रष्टाचारविरुद्ध, रोजगारी र समृद्धिको लागि थियो । देशमै भविष्य सुनिश्चित होस् भन्ने चाहना थियो । त्यो चाहना अझै अधुरो छ । त्यो अधुरो क्रान्तिलाई पूरा गर्न जनताले देशभरबाट मतपत्रमार्फत रास्वपालाई दुईतिहाइको बहुमत दिनुभएको छ । अब परिवर्तनको बाटोमा मुलुक जान्छ भन्ने उहाँहरूको विश्वास छ ।’