काठमाण्डु – हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बन्ने नयाँ सरकारप्रति सर्वसाधारणले ठूलो अपेक्षा राखेका छन् ।
उनीहरूका अनुसार विगतमा सत्ता सम्हालेका पुराना राजनीतिक दलहरूले जनताको चाहनाअनुसार काम गर्न नसकेपछि जनतामा असन्तुष्टि बढेको थियो । यही असन्तुष्टिको परिणामस्वरूप अहिले नयाँ नेतृत्व र नयाँ राजनीतिक शक्तिप्रति जनताले आशा राखेका हुन् ।
सर्वसाधारणको भनाइमा अब बन्ने सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेछ । व्यक्तिगत, दलगत स्वार्थ र सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ ।
काठमाण्डुमा रहेका पोखराका डा. श्रीकृष्ण कँडेलका अनुसार पुराना दलप्रति वाक्कदिक्क भएका कारण जनताले नयाँ अनुहार र युवाहरूलाई अवसर दिएका हुन् । ‘पुराना पार्टीप्रति वाक्क भएर नयाँ पार्टी, नयाँ मान्छे र युवाहरू आएका छन् । यिनले केही गर्छन् भन्ने सबैको अपेक्षा छ,’ उनले भने ।
उनका अनुसार अहिले विभिन्न स्थानमा बालेन शाह र रवि लामिछानेको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेको भए पनि अन्तत: देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नु सबैको दायित्व हो । ‘अब आफूभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ,’ कँडेलले भने ।
उनले अहिले देशका धेरै क्षेत्रमा समस्या र बेथिति रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताए । ‘यी क्षेत्रमा व्यापक बेथिति छ । त्यसलाई नआत्तिकन र नहतारिकन व्यवस्थित रूपमा सुधार गर्दै जनताले सरकारले काम गरेको अनुभूति गर्ने गरी काम गर्नुपर्छ,’ उनले भने ।
कँडेलका अनुसार सरकारी निकायबाट पीडित भएका नागरिकहरूले राहत पाउने वातावरण पनि सरकारले बनाउन आवश्यक छ । छोटो समयमा गर्न सकिने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने योजनाहरू स्पष्ट रूपमा छुट्याएर सरकार अघि बढ्नुपर्ने उनले बताए ।
‘सरकारले छोटो समयमै देखिने परिणाम दिने कामहरू पनि गर्नुपर्छ र दीर्घकालीन विकासका योजना पनि बनाउनुपर्छ । बिचमा रहेका माफिया र बिचौलियाहरूलाई निस्तेज गर्दै सरकार अघि बढ्नुपर्छ,’ उनले भने ।
उनले सरकार कुनै एक व्यक्तिले मात्र नभई टीमवर्कका आधारमा सञ्चालन हुने भएकाले सक्षम र विज्ञहरूको साथ अत्यन्त आवश्यक पर्ने बताए ।
‘बालेनसँगै नयाँ शिक्षित युवाहरूले सरकार चलाउँदा सुरुमा केही अन्योल हुन सक्छ । तर उहाँलाई सहयोग गर्न सम्बन्धित क्षेत्रका विज्ञहरू तयार छन् । विज्ञहरूको सल्लाह लिएर अघि बढे नयाँ सरकार सफल हुन सक्छ,’ कँडेलले भने ।
उनले बालेनले सरकार चलाउन सक्दैनन् भन्ने सोच गलत भएको पनि बताए । उनका अनुसार अवसर र उचित टोली पाए नयाँ नेतृत्वले पनि राम्रो काम गर्न सक्छ ।
कँडेलले पूराना राजनीतिक दलहरूलाई पनि आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए । ‘पुराना दलहरू पहिले आफैं सच्चिनुपर्छ । माथिको नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासम्मले सामान्य जनताको बेवास्ता गर्दै हिँडे,’ उनले भने ।
उनका अनुसार धेरै नेताहरूले आफू जनताको समर्थनबाट आएको भन्ने कुरा बिर्सिए । ‘म कहाँबाट उठेर आएको हुँ, म कसको समर्थनले यहाँ पुगेको हुँ, मेरो जिम्मेवारी के हो भन्ने बोध नगरी आफू नै सर्वोपरी हुँ भन्ने सोचमा धेरै नेता हिँडे,’ उनले भने ।
यस्तो प्रवृत्तिका कारण पुराना दलप्रति जनताको विश्वास कमजोर बनेको उनले बताए । तर उनले पुराना दलहरू सधैँका लागि समाप्त हुने भन्ने पनि आवश्यक नरहेको धारणा व्यक्त गरे । ‘यदि नयाँ नेतृत्वले पनि राम्रो काम गर्न सकेन भने जनताले फेरि पुराना दललाई पनि अवसर दिन सक्छन्,’ उनले भने ।
उनका अनुसार अहिले जनता धेरै आकुल–व्याकुल अवस्थामा छन् र उनीहरू नयाँ विकल्प तथा राहतको खोजीमा छन् ।
चितवनका रामबहादुर सिम्खडाले पनि नयाँ सरकारप्रति जनताको अपेक्षा धेरै रहेको बताए । उनले पुराना दलहरूले विगतमा गरेका गल्तीहरू नदोहोर्याई सुधारका साथ अघि बढ्नुपर्नेमा जोड दिए । ‘प्रतिशोधको राजनीति त्याग्नुपर्छ । कानून र संविधानअनुसार देश चलाउनुपर्छ,’ उनले भने ।
उनका अनुसार विगतका सरकारहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको कारण नै नयाँ राजनीतिक शक्ति जन्मिएको हो । ‘हाम्रो आकांक्षा अघिल्ला सरकारहरूले पूरा गर्न सकेनन् । त्यसैले नयाँ विकल्प आएको हो,’ सिम्खडाले भने ।
उनले नयाँ पार्टी र सरकारले पुराना पार्टी तथा सरकारका कमजोरीहरूलाई राम्रोसँग अध्ययन गरेर जनताको आवश्यकता पूरा गर्ने नीतिहरू ल्याउनुपर्ने बताए । सिम्खडाले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा बालेन शाहले गरेको कामप्रति पनि सकारात्मक टिप्पणी गरे ।
‘बालेनले महानगरमा धेरै काम गर्न पाएनन् तर जति काम गरे पनि जनताको आवश्यकता अनुसार मन छुने काम गरेका छन्,’ उनले भने ।
यदि बालेन शाह प्रधानमन्त्री भए देशका लागि राम्रो काम गर्ने विश्वास पनि उनले व्यक्त गरे । ‘उहाँ प्रधानमन्त्री हुनुभयो भने सफल कार्यकालको शुभकामना,’ उनले भने ।
एकेन्द्र पन्तले विगतका वर्षहरूमा देशमा कुशासन, भ्रष्टाचार र शान्ति–सुरक्षाका विषयमा व्यापक असन्तुष्टि बढेको बताए । उनका अनुसार यही असन्तुष्टिको परिणामस्वरूप अहिले नयाँ राजनीतिक परिस्थिति बनेको हो ।
‘विगतका कुशासन, भ्रष्टाचार र शान्तिको विषयमा जनतामा व्यापक असन्तुष्टि थियो । त्यसकै कारण अहिले नयाँ परिस्थितिको निर्माण भएको हो,’ उनले भने ।
पन्तका अनुसार अब बन्ने सरकारले आमजनताको भावना बुझ्दै भ्रष्टाचार अन्त्य गर्न विशेष पहल गर्नुपर्छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउँदै राष्ट्रिय स्वाभिमान कायम राख्नु पनि सरकारको महत्वपूर्ण दायित्व हुने बताए । पन्तले नयाँ पार्टीहरूमा अनुभवको अभाव देखिए पनि त्यसलाई कमजोरीका रूपमा मात्र हेर्न नहुने बताए । ‘नयाँ नेतृत्वमा अनुभव कम हुन सक्छ तर जनताको उत्साह र समर्थन ठूलो छ,’ उनले भने ।
उनका अनुसार योग्य र सक्षम विज्ञहरूको टोली बनाएर काम गरे नयाँ नेतृत्व सफल हुन सक्छ । ‘काठमाण्डु महानगर चलाएको जस्तो मुलुक चलाउन पक्कै पनि गाह्रो हुन्छ तर यदि विज्ञहरूको समूह बनाएर नातावाद र पक्षपात विना काम गरे भने सफल हुन सक्छन्,’ उनले भने ।
पन्तले नयाँ नेतृत्वलाई जनताले उत्साहका साथ सत्तामा पुर्याएको उल्लेख गर्दै अब उनीहरूलाई सही मार्गमा राख्ने जिम्मेवारी पुराना दलहरूको पनि हुने बताए । सर्वसाधारण नागरिकहरूका अनुसार अबको सरकारले जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र देशमा राजनीतिक स्थिरता र विकासको वातावरण बन्न सक्छ । उनीहरूले पारदर्शिता, सुशासन, जनमुखी नीति र जिम्मेवार नेतृत्वमार्फत देशलाई सही दिशामा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् ।




प्रतिक्रिया