एनआरएनएमा चुनावी गतिविधि बढ्यो, उम्मेदवारहरूको नाम सार्वजनिक

एनआरएनएमा चुनावी गतिविधि बढ्यो, उम्मेदवारहरूको नाम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)को फागुन ३० गतेदेखि हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनसँगै चुनावी सरगर्मी तीव्र भएको छ ।

अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।

संस्थालाई निकास दिने र फुटको संघारमा रहेको एनआरएनएको एकता जोगाउने भन्दै व्यानलसहित उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।

अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, महासचिवका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन् ।

६ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन्।

यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुनेछ।

सचिव पदका लागि ८ जना, कोषाध्यक्षमा २ जना र सहकोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। यसका साथै विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदहरूमा पनि मनोनयन दर्ता भएको छ।

महाधिवेशनबाट एक जना अध्यक्ष, छ जना उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक युवा उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यसैगरी महासचिव, दुर्ई उपमहासचिव, छ सचिव र एक महिला सचिवको निर्वाचन हुनेछ ।

आर्थिक कार्यभार सम्हाल्न एक कोषाध्यक्ष, तीन सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष चयन हुने व्यवस्था छ । साथै, एक महिला संयोजक, एक युवा संयोजक, छवटा क्षेत्रबाट एक–एक जना गरी छ क्षेत्रीय संयोजक र १७ क्षेत्रीय उपसंयोजक निर्वाचित हुने छ ।

एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाण्डुमा आयोजना हुँदैछ।