काठमाण्डु – नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई शुक्रबार पनि उद्धार गर्दैछ ।
निगमले मध्यपूर्वमा जारी युद्धका कारण फसेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याइरहेको छ ।
निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो।
विशेष उद्धार उडानको सो विमानमार्फत काठमाण्डु विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो।
शुक्रबार पनि दुबईबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याउनेछ ।
फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो। अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो।




प्रतिक्रिया