इनिशा विकलाई न्याय माग्दै काठमाण्डु र सुर्खेतमा विद्यार्थीहरू सडकमा

इनिशा विकलाई न्याय माग्दै काठमाण्डु र सुर्खेतमा विद्यार्थीहरू सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकलाई न्यायको माग गर्दै काठमाण्डु र सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शनमा उत्रिएका छन् ।

इनिशा विक हत्या प्रकरणको छानविन र दोषिलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विद्यार्थीहरूले दर्शन गरेका छन् । इनिशा विकलाई न्याय दिनुपर्ने भन्दै काठमाण्डुमा पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उता, इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरूले पनि सुर्खेतकोे वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

विद्यालय पोशाकमै रहेका उनीहरूले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका थिए ।

फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ ।

एक सातादेखि इनिशाको शव आफन्तले बुझ्न मानेका छैनन् । कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा इनिशाको शव राखिएको छ ।

सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कार्वाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् । रोजगारीको लागि दुबइमा रहेका इनिशाका बुवा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन् ।