अमेरिकी जनरल भोवेल भोलि काठमाण्डु आउँदै

अमेरिकी जनरल भोवेल भोलि काठमाण्डु आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सेनाका उप–कमाण्डिङ जनरल जोएल ‘जेबी’ भोवेल तीन दिने भ्रमणका लागि आइतबार काठमाण्डु आउँदैछन् ।

उनी फोर्ट शाफ्टर, हवाईमा अवस्थित अमेरिकी सेना प्रशान्त (USARPAC) का लागि उप कमान्डिङ जनरल हुन् ।

फागुन २१ गते भएको संसदीय निर्वाचनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् ।

जनरल भोवेल आइतबार भुटान हुँदै काठमाण्डु आउनेछ छन् । भ्रमणका क्रममा उनले काभ्रेपलाञ्चोकको पनौती नजिक रहेको वीरेन्द्र शन्ति तालिम सञ्चालन केन्द्रको अवलोकन गर्नेछन् । त्यसक्रममा उनले नेपाल सेनाले सञ्चालन गरिरहेको विभिन्न गतिविधि अवलोकन गर्ने कार्यक्रम छ ।

अमेरिकी जनरल भोवेलले प्रधानसेनापति अशोकराज सिग्देलसहित नेपाल सेनाका वरिष्ठ अधिकारीहरूसँग पनि भेट गर्ने सम्भावना छ ।

नेपाल आउनु अघि जनरल भोवेलले बिहीबार भारतका प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग दिल्लीमा भेटवार्ता गरेका थिए । उक्त भेटमा भारत–अमेरिका रक्षा साझेदारीलाई थप सुदृढ गर्ने उपायहरूबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

त्यसैगरी उनले भारतीय सेनाका रथी पुष्पेन्द्र सिंहसँग पनि भेट गरी इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा अवस्था र संयुक्त सैन्य तालिमबारे छलफल गरेका थिए ।

भारतपछि उनले भुटानको भ्रमण गरेका छन् । भुटानको भ्रमण सकेर उनी आइतबार काठमाण्डु आउन लागेका हुन् ।

फागुन २१ कोे निर्वाचनअघि पनि संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो फेब्रुअरी १३–१४ मा काठमाण्डुको भ्रमण गरेका थिए ।

अमेरिकी सेनाका अनुसार अमेरिका र नेपालबीच संयुक्त अभ्यासमार्फत विपद् व्यवस्थापन क्षमता सुदृढ गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने, हेलिकप्टर, सवारीसाधन र सञ्चार प्रणाली जस्ता गैर–लडाकु उपकरण उपलब्ध गराउने जस्ता विषयमा उच्चस्तरको सैन्य सहयोगका विषयमा नेपालसँग सहकार्य भइरहेको छ ।

यसले नेपालका सुरक्षा निकायहरूको शान्ति स्थापना र मानवीय अभियान सञ्चालन गर्ने क्षमता बढाउन सहयोग पु¥याउने पनि अमेरिकी सेनाले बताइएको छ ।