काठमाण्डु – गूगलले आफ्नो नेभिगेसन सेवा गुगल म्यापमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ ।
१ दशकभन्दा बढी समयपछि गरिएको ठूलो अपडेटले नेभिगेसन र यात्रा योजना अझ सहज, संवादात्मक र यथार्थपरक बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
अपडेटको केन्द्रमा ‘आस्क म्याप’ नामक नयाँ सुविधा रहेको छ, जसलाई गूगलको नवीनतम जेमिनाइ एआई मोडलले सञ्चालन गर्छ । यस सुविधामार्फत प्रयोगकर्ताले म्याप एपभित्रै प्राकृतिक भाषामा जटिल प्रश्न सोधेर स्थान, यात्रा योजना वा मार्गसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यो सुविधा हाल अमेरिका र भारतमा एन्ड्रोइड तथा आईओएस उपकरणमा सुरु गरिएको छ ।
गूगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पछाईले सामाजिक सञ्जाल एक्समार्फत यस अपडेटबारे जानकारी दिँदै यसलाई अझ बुद्धिमान नेभिगेसन उपकरणतर्फको महत्वपूर्ण कदम बताएका छन् । ‘आस्क म्याप’ सुविधामार्फत प्रयोगकर्ताले ‘परिवारसँग ३ घण्टाको हाइकिङका लागि उपयुक्त स्थान कहाँ छ ?’ ‘नजिकै फोन चार्ज गर्ने ठाउँ कहाँ छ ?’ वा ‘राति खेल्न मिल्ने सार्वजनिक टेनिस कोर्ट कहाँ छ ?’ जस्ता प्रश्न सोधेर जानकारी पाउन सक्छन् ।
गूगलका अनुसार यो सुविधा विश्वभरका ३० करोडभन्दा बढी स्थानसम्बन्धी तथ्यांक र ५० करोडभन्दा बढी योगदानकर्ताबाट प्राप्त जानकारीमा आधारित छ । यसले प्रयोगकर्तालाई व्यक्तिगत सुझाव दिनुका साथै नक्सामै ती स्थानहरू देखाउने गर्छ । यससँगै गुगलले ‘इमर्सीभ नेभिगेसन’ नामक अर्को सुविधा पनि सार्वजनिक गरेको छ, जसलाई पछिल्लो दशकको सबैभन्दा ठूलो नेभिगेसन अपडेट भनिएको छ ।
जेमिनाई मोडेलको सहयोगमा यो सुविधाले सडक, भवन, चोक, ट्राफिक बत्ती र अन्य संरचनाहरूलाई यथार्थपरक थ्री–डी दृश्यमा प्रस्तुत गर्छ । यसले चालकलाई सडकबारे स्पष्ट जानकारी दिने, लेन गाइड देखाउने, मोड वा निकासबारे पहिले नै तयारी गर्न सहयोग गर्ने लगायत सुविधा प्रदान गर्ने बताइएको छ ।
गूगलका अनुसार एआई प्रविधिसँग म्यापिङ डेटा संयोजन गरेर डिजिटल नक्सालाई अझ उपयोगी बनाउने प्रयास गरिएको हो । कम्पनीले अपडेटलाई एआई आधारित नेभिगेसनको नयाँ युगको सुरुआतका रूपमा व्याख्या गरेको छ । (एएनआई)




प्रतिक्रिया