काठमाण्डु – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात मात्रै भयो भन्नु जनमतको अपमान हुने टिप्पणी गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता पाण्डेले कार्यकर्ताले सत्य बोलेकै आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला भनेर प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब जनताले मतपत्रबाटै ‘अस्वीकार’को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘कारबाही’को धम्की दिनु कतिसम्म बुद्धिमानी होला ? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ?’
उनले एमालेको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताए । उनले लेखेका छन्, ‘यस्तो गम्भीर मोडमा पनि ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला – तर अन्तर्घातले ५–१० हजार मत तल–माथि होला । देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’
चुनावको पराजय कुनै षड्यन्त्र नभई एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश भएको उनले बताए । उनले लेखेका छन्, ‘अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान् र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।’




प्रतिक्रिया