काठमाण्डु – खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा पोखरामा एक बिक्रेतालाई जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि कारबाही गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार ती बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका पाँच ग्यास डिलरको अनुगमन गरेको थियो ।
ग्यास अभाव भएको उपभोक्ताबाट गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।
अनुगमन टोलीले भण्डारी ट्रेडर्समा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ ।
घरायसी प्रयोजन पहिलो प्राथमिकतामा
बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन दिएको छ ।
निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
त्यसैगरी ग्यास बिक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरेँ भन्ने कुराको फोन नम्बरसहित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
ग्यास वितरणका क्रममा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निगमको मुख्य निर्देशन छ । होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणका लागि ग्यास उपलब्ध गराउनुपर्ने र व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको पनि छुट्टै रेकर्ड राख्न निगमले भनेको छ ।




प्रतिक्रिया