काठमाण्डु- हालै सम्पन्न निर्वाचनमा पार्टीले हार व्यहरोपछि एमाले नेताहरूबीच फेसबुक युद्ध सुरु भएको छ ।
एमालेका विभिन्न नेताहरूले फेसबुकमा स्टाटस लेखेर एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रेका छन् ।
एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्ला तहका नेताबाट लान्छना लगाउने, घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
फेसबुकमा उनले पार्टीका माथिल्लो तहबाटै आफू र पार्टी नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
‘एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,’ उनले लेखेका छन्, ‘यस बिचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।’
उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले रूपान्तरण गर्नु पर्ने बताएका छन् ।
‘उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फतÞत तथ्य र तर्क सहित छलफल र बहस गर्न जरुरी छ । गलत जानकारी, मिथ्या जानकारी र घृणायुक्त भाषण बन्द गरौँ । फेरी पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमिक्षा गरौँ,’ उनले लेखेका छन् । उनले पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताएका छन् ।
त्यसअघि एमालेका नेताद्वय गोकुल बाँस्कोटा र शेरबहादुर तामाङबीच पनि फेसबुक युद्ध चलेको छ ।
निर्वाचनमा पार्टीले कमजोर मतपरिणाम निकालेपछि बाँस्कोटाले त्यसको नैतिक जिम्मेवारी लिएर नेतृत्वले राजीनामा दिनुपर्ने बताएका थिए । त्यसमा तामाङले एक सार्वजनिक मञ्चबाट बाँस्कोटालाई कटाक्ष गर्दै भनेका थिए, ‘पार्टीका केही अमुक नेताहरुले नेतृत्वमाथि दोष थुपारेर आफू चोखो बन्न खोजिरहनुभएको छ, नेतृत्वले राजीनामा दिदैमा के के सिङ उम्रिहाल्छ भन्ने हामीलाई लाग्दैन ।’
तामाङको उक्त कटाक्षपछि बाँस्कोटाले जवाफ फर्काउँदै भनेको थिए, ‘भन्न मन थिएन तर मैले राखे बापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन्, म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटक पटक पार्टी नै फुटाउन समेत पछाडि नपर्ने चरम अवसरवादी पात्र होईन ।’





प्रतिक्रिया