काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।
राजदूत चाङले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।
भेटमा २ देशबिचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष दाहालले नेपालका लागि नवनियुक्त राजदूत चाङलाई स्वागत गर्दै भने, ‘तपाईंलाई नेपालमा स्वागत छ, तपाईंको कार्यकालमा नेपाल–चीन सम्बन्ध अझ घनिष्ट र उचाइमा पुग्ने विश्वास लिएको छु ।’
नेपाल र चीनबिचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले २ देशबिचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।
गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सराहनीय रहेको बताए ।
नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताए ।
चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे ।
बीआरआई लगायत २ देशबिच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले २ देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिए ।
अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गरे । भेटमा उनले कनेक्टिभिटीका लागि सडक सञ्जाल र सिमा नाकाहरुको पूर्वाधार विकासमा पनि पहल गर्न अनुरोध गरेका थिए ।
सो अवसरमा राजदूत चाङले २ देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए ।
उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदानप्रदान भएपछि २ देशबिचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा उठेको बताए ।
नेपालमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताए ।
बस्आरआई लगायत चीन–नेपालबिच भएका सम्झौताहरू छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताए ।
भेटमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेल लगायत परराष्ट्र मन्त्रालय र संघीय संसद् सचिवालयका कर्मचारीहरू तथा चिनियाँ दूतावासका अधिकारीहरूको सहभागिता थियो ।




प्रतिक्रिया