काठमाण्डु – खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।
महासंघले नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण खाडी क्षेत्रबाट विश्व बजारमा पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको र त्यसको असर नेपालमा परेको निगमको भनाइ छ ।
विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आम नागरिक आक्रोशित बन्न पुगेको उल्लेख गर्दै यसको प्रत्यक्ष असर यातायात व्यवसायमा पर्ने बताइएको छ ।
महासंघका अनुसार वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्ने र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबिच लिखित सहमति भइसकेको थियो ।
डिजेलको मूल्य बढेसँगै सोही वैज्ञानिक विधिअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारका सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।
अहिले भाडादर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाइँदा ट्रक व्यवसायीलाई पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न कठिन हुने महासंघले स्पष्ट पारेको छ ।
महासंघले २०६५ सालदेखि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सवारीसाधनको भाडा समायोजन गर्ने वैज्ञानिक नीति लागू गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ । २०८१ साल पुस २२ यता भाडादरको पुनरावलोकन समेत नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन पनि माग गरिएको थियो ।
यसैबिच नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य आईतबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डु, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल–मट्टीतेल १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५१ रुपैयाँ कायम गरिएको छ ।
पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।




प्रतिक्रिया