उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल

उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता अदालतले स्थापना भएको १ वर्षको अवधिमा थोरै भए पनि महत्वपूर्ण काम गरेको बताएकी छन् ।

उपभोक्ता अदालतको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले उपभोक्ता भनेको वस्तु खरिद गर्ने व्यक्ति मात्र नभई सचेत नागरिकको संकेत भएको उल्लेख गरिन् । उनले समाजका सबै मानिस उपभोक्ता हुने भन्दै उत्पादक समेत उपभोक्ता नै हुने धारणा व्यक्त गरिन् ।

उनले भनिन्, ‘उपभोक्ता अदालतले १ वर्षको समयमा थोरै तर महत्त्वपूर्ण काम गरेको छ । उपभोक्ता भन्ने वित्तिकै वस्तु खरिद गर्ने व्यक्ति मात्र होइन । उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो जस्तो लाग्छ । उपभोक्ता को भनेर हामीले प्रश्न नै गर्नु पर्दैन । सबैजना उपभोक्ता हौं । जो उत्पादक हुनुहुन्छ, उहाँहरू पनि उपभोक्ता हो ।’

उनले उपभोक्ताको अधिकारको विषय उठाउँदा बाहिरका कसैको अधिकारको कुरा नभई सबैले आफ्नै अधिकारको कुरा गरिरहेको बताइन् ।

डंगोलले व्यापार, व्यवसाय र बजार अपेक्षित रूपमा अनुशासित नभएकै कारण उपभोक्ता अदालतको आवश्यकता परेको बताइन् । बजारलाई व्यवस्थित र अनुशासित बनाउन कानून आवश्यक पर्ने र गलत कार्य हुने स्थानमा दण्ड दिनुपर्ने भएकाले यस्ता कानून निर्माण गरिएको उनको भनाइ थियो ।

‘उपभोक्ताको अधिकारको कुरा गरिरहँदा अरु कोही बाहिरको व्यक्ति, बाहिरको मान्छे कसैको अधिकारको कुरा गरेका होइनौं, हामी सबै आफ्नो अधिकारको कुरा गरिरहेका छौं । उपभोक्ताको अधिकारको कुरा गर्दा हामीले उपभोक्ता अदालत सुरु गर्नुपर्ने किन भयो भन्दाखेरी व्यापार, व्यवसाय, बजार जुन हिसाबले अनुशासित हुनुपर्ने हो, त्यो हिसाबले अनुशासित छैन । त्यो अनुशासित बनाउनका लागि कानून चाहिन्छ र सँगसँगै दण्ड दिनुपर्ने ठाउँमा दिनु नि पर्छ भनेर पनि यो कानूनहरू बनेको हो,’ उनले भनिन् ।

उनले उपभोक्ता अदालतले बजारलाई सही ट्रयाकमा ल्याउन र अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले उपभोक्तासँग सम्बन्धित अधिकार र जिम्मेवारी कुनै एक निकायमा मात्र सीमित नभई सबै सरोकारवालाको साझा दायित्व भएको पनि उल्लेख गरिन् ।

उनले भनिन्, ‘हामीले हाम्रो बजारलाई एउटा ट्रयाकमा ल्याउन, अनुशासित बनाउन पनि हो । उपभोक्ता भन्ने बित्तिकै एउटा निकायको मात्र सम्पूर्ण अधिकार जिम्मेवारी दिइएको छैन । उपभोक्तासँग सम्बन्धित अधिकार र जिम्मेवारी कुनै एक निकायमा मात्र सीमित नभई सबै सरोकारवालाको साझा दायित्व हो ।’