काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ ।
यसअघि पनि रिटमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज सुनुवाइ भएको हो । रिटमा अब बिहीबार सुनुवाइ हुनेछ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने आदेश गरेका छन् ।




प्रतिक्रिया