काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् ।
मंगलबार काठमाण्डुमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन् ।
अध्यक्ष ढकालले महासंघकै माग र पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिए । उनका अनुसार पूराना र बाधक कानुनहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने आयोगले महत्वपूर्ण भूमिका खेल्नेछ ।
‘निजी क्षेत्र पूर्णरूपमा निराश हुनुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘हामीले दिएका सुझावहरूमध्ये करीब ३० वटा कानून, नियमावली र कार्यविधिहरू परिवर्तन भइसकेका छन् भने कतिपय परिवर्तनको प्रक्रियामा छन् ।’
विगतमा राजनीतिक अस्थिरताका कारण कतिपय काम हुन नसके पनि अब स्थिर सरकारसँगै ती समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै महासंघकी पूर्वअध्यक्ष भवानी राणाले वर्तमान अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताइन् । विशेषगरी अन्तर्राष्ट्रिय संकटले नेपाली अर्थतन्त्रमा पारेको असरबारे उनले चिन्ता व्यक्त गरिन् ।
पूर्वअध्यक्ष राणाले भनिन्, ‘अन्तर्राष्ट्रिय संकटका कारण रेमिटेन्स (विप्रेषण) प्रवाहमा कमी आउन सक्छ । यदि विदेशमा रहेका नेपाली कामदारहरू ठूलो संख्यामा फर्किए भने उनीहरूलाई रोजगारी दिनु राज्यका लागि ठूलो चुनौती हुनेछ ।’ उनले बढ्दो महँगी र विश्वव्यापी आर्थिक मन्दीको प्रभावबाट जोगिन पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन् ।




प्रतिक्रिया