काठमाण्डु – यसपटकको निर्वाचनमा एउटा रमाइलो संयोग देखिएको छ । संसद्मा ‘गणेश’ नाम भएका पाँच जना सांसद् निर्वाचित भएका छन् । उनीहरू सबै प्रत्यक्ष प्रणालीबाट निर्वाचित भएका हुन् भने सबैजना एउटा दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हुन् ।
संसद्मा मोरङ–३ बाट गणेश कार्की, काठमाण्डु–७ बाट गणेश पराजुली, कास्की–१ बाट गणेश पौडेल (गडकराज पौडेल), बारा–१ बाट गणेश धिमाल र रौतहट–४ बाट गणेश पौडेल निर्वाचित भएका हुन् । उनीहरू सबै रास्वपाका प्रत्यक्षबाट निर्वाचित भएका हुन् ।
एउटै पार्टीबाट उस्तै नाम गरेका पाँच सांसद निर्वाचित भएपछि यसको चर्चा भइरहेको छ । यस्तो संयोग नेपालको संसदीय इतिहासमा पहिलो घटना मानिन्छ । वर्तमान संसद्मा देखिएको यस्तो रमाइलो संयोग नेपालको संसदीय इतिहासमै पहिलो हो ।
मोरङका सांसद् कार्कीले एउटै नाम भएका सांसद्हरूको तस्बिर फेसबुकमा साझा गर्दै लेखेका छन्, ‘रास्वपाका हामी ५ गणेश नामधारी सांसद ।’
यी पाँचै जना सांसद फरक भूगोलबाट निर्वाचित भएका हुन् । पूर्वको मोरङदेखि मधेशको रौतहटसम्म र राजधानी काठमाण्डुदेखि पर्यटकीय नगर कास्कीसम्म संसद्ले ‘पाँच गणेश’ पाएका छन्।
मोरङका कार्की औद्योगिक र सहरी–ग्रामीण मिश्रित क्षेत्रको प्रतिनिधि गरेका छन् । काठमाण्डुका गणेश राजधानीको शिक्षित तथा सचेत मतदाताको भरोसा बोकेका छन्।
यस्तै कास्कीका गणेश पर्यटन र विकासको सम्भावना बोकेको क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचित भएका हुन् । बारा र रौतहटका दुबै गणेश मधेशको जटिल राजनीति, सीमावर्ती सामाजिक–आर्थिक चुनौतीको प्रतिनिधित्व गर्दै विजयी भएका छन् ।
उनीहरूसहित निर्वाचित सबै सांसद्ले चैत १२ गते शपथ लिँदैछन् ।

तस्बिर : सांसद् गणेश कार्कीको फेसबुक वालबाट




प्रतिक्रिया