काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूल प्रवाहीकरण गर्ने उद्देश्यसहित ३ वटा महत्त्वाकांक्षी परियोजना प्रस्ताव गरेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने किसिमका ३ वटा परियोजना प्रस्ताव गरिएको जानकारी दिए ।
एनआरएनएको १२औँ एकताको महाधिवेशन लगत्तै ३ दिनसम्म बसेको बैठकले परियोजना अघि बढाउन स्वीकृति प्रदान गरेको शेरचनले बताए । बैठकले दिएको म्यान्डेटअनुसार उनी मातहतकै विभागबाट परियोजनालाई मूर्तरूप दिन प्रक्रिया अघि बढाइनेछ ।
एनआरएनए हस्पिटल र केयर होम
वरिष्ठ उपाध्यक्ष शेरचनका अनुसार संघले अघि सारेको पहिलो र सबैभन्दा महत्त्वपूर्ण परियोजना ‘एनआरएनए हस्पिटल’ हो । यो केवल एक सामान्य अस्पताल मात्र नभई, त्यहाँ रिटायरमेन्ट होम, केयर होम र बालबालिकालाई खेल्ने तथा हुर्काउने सुरक्षित वातावरणसहितको एकीकृत ‘मल्टिपल कम्प्लेक्स’ का रूपमा रहने उनको भनाइ छ । विशेष गरी विदेशमा रहेका नेपालीका अभिभावक (बुबाआमा) को स्याहार–सुसारका लागि यो परियोजना कोशेढुङ्गा साबित हुने एनआरएनएको विश्वास छ ।
शेरचनले भने, ‘हाम्रा धेरै अभिभावकहरू घरमा एक्लै हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै हामीले एउटा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल र केयर होम बनाउने योजना राखेका छौँ ।’ अस्पतालमा केवल नेपालीहरू मात्र नभई आमनागरिकले पनि सेवा लिन पाउने बताइएको छ । यसले नेपालको स्वास्थ्य प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्डको सेवा थप्ने विश्वास लिइएको छ । हस्पिटलका लागि संघले विदेशका विशेषज्ञ चिकित्सकहरूसँग समन्वय गरी प्रविधि भित्र्याउने योजना पनि बनाएको छ ।
एनआरएनए स्कुलको अवधारणा
दोस्रो महत्त्वपूर्ण परियोजना ‘एनआरएनए स्कूल’ हो । विदेशमा जन्मे–हुर्केका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र आफ्नो जरासँग जोड्नका लागि स्कूल स्थापना गर्ने योजना बनाइएको शेरचनको भनाइ छ । उनका अनुसार हाल विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली बालबालिकाहरूलाई एउटै साझा प्लेटफर्ममा ल्याउन स्कूल परियोजनाले मद्दत गर्नेछ ।
विद्यालयमा नेपाली पाठ्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिने बताइएको छ । यसले विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीका छोराछोरीलाई नेपालसँग भावनात्मक रूपमा जोड्न र भविष्यमा उनीहरूले नेपालमै आएर सेवा गर्न सक्ने वातावरण सिर्जना गर्नेछ ।
अत्याधुनिक ईभी डबल डेकर बस सेवा
एनआरएनएको तेस्रो परियोजना काठमाण्डु उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने ईभी डबल डेकर बस सेवा हो । बढ्दो ट्राफिक जाम र प्रदूषणलाई न्यूनीकरण गर्न यो परियोजना निकै प्रभावकारी हुने दाबी गरिएको छ । शेरचनका अनुसार काठमाण्डुको रिङरोड र मुख्य शहरी क्षेत्रमा चल्ने गरी यी अत्याधुनिक विद्युतीय बसहरू सञ्चालन गर्ने प्रस्ताव छ ।
परियोजनाका लागि यसअघि नै पनि काठमाण्डु महानगरपालिका र सरोकारवाला निकायहरूसँग पटक–पटक छलफल भइसकेको छ । ‘हामीले केवल बस ल्याउने मात्र होइन, त्यसलाई कसरी सञ्चालन गर्ने र ट्राफिक व्यवस्थापनमा कसरी सहयोग पुर्याउने भन्ने कुराको पनि अध्ययन गरेका छौँ,’ शेरचनले भने । परियोजनाले सार्वजनिक यातायातमाथि सर्वसाधारणको विश्वास बढाउने र हरित सहरको अवधारणालाई सार्थक बनाउने लक्ष्य राखेको उनको भनाइ छ ।
लगानीको मोडल
वरिष्ठ उपाध्यक्ष शेरचनले यी ३ वटै परियोजनालाई एनआरएनए ट्रेड एन्ड इन्भेस्टमन्ट’ विभागमार्फत अघि बढाइने बताए । परियोजनाहरूमा पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा काम गरिने बताइएको छ । जसमा सबै एनआरएनएहरूको अपनत्व महसूस हुने गरी आवश्यक व्यवस्था गरिनेछ ।
परियोजनाको कार्यान्वयनका चरणबद्ध रूपमा काम गरिने शेरचनको भनाइ छ । जसअनुसार सरकारसँग समन्वय गर्दै जग्गा प्राप्ति, अनुमति पत्र र कानूनी अड्चनहरू फुकाउने काममा पहिलो चरणमा काम गरिनेछ । यी परियोजनाहरू कुनै व्यक्ति वा संस्थाको मात्र नभई सिङ्गो नेपालको प्रतिष्ठासँग जोडिएकाले सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको एनआरएनएको भनाइ छ ।
कुनै पनि ठूला परियोजना अघि बढाउँदा कानूनी र प्रक्रियागत जटिलता आउनु स्वाभाविक हो । शेरचनले यो कार्य सरकारी नीति नियमभित्र रहेर छिटो सम्पन्न गर्न ध्यान दिइने बताए ।
उनले भने, ‘हामीलाई काम गर्नका लागि नेपाल सरकार र सम्बन्धित निकायको सहयोग अपरिहार्य छ । हामीले लगानी मात्र ल्याउने होइन, नेपालमा काम गर्ने संस्कार पनि भिर्त्याउन खोजिरहेका छौँ ।’
यी परियोजनाले कार्यान्वयनको स्वरूप पाएमा नेपालको अर्थतन्त्रमा प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ भने ‘रिटर्न टू नेपाल’ अभियानलाई समेत थप बल पुर्याउने विश्वास लिइएको छ । विगतको सरकार भन्दा अब बन्ने सरकार फरक हुने भएकाले पनि सकारात्मक सहयोग मिल्नेमा एनआरएनएको विश्वास छ ।
लगानीका लागि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डको मोडल समेत तयार गरिएको छ । कोषमा एनआरएनएका सबै खाले लगानीकर्ता, गैरआवासीय नेपाली र नेपाल सरकारको समेत साझेदारी रहने गरी छलफल भइरहेको छ ।




प्रतिक्रिया