काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ ।
चैत ६ देखि ८ गतेसम्म सानेपास्थित केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले थापाको राजीनामा अस्वीकार गर्दै उनकै नेतृत्वमा अघि बढ्ने निर्णय गरेको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले विधानको धारा २६ (१) बमोजिम राजीनामा दिएका थिए । बैठकले निर्वाचन पराजयका कारणहरू व्यक्तिगत नभई संरचनागत र नियन्त्रण बाहिरको परिस्थिति रहेको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको र राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकाले यसलाई अस्वीकृत गरिएको हो ।’ विशेष महाधिवेशनपछि सुरु भएको ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई पूर्णता दिन पनि थापाको नेतृत्व अनिवार्य रहेको बैठकको निष्कर्ष छ ।
उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनलाई बैठकले परिमार्जनसहित पारित गरेको छ । निर्वाचन हारका मुख्य कारणहरूमा पार्टीभित्रको चरम गुटबन्दी र आन्तरिक असहयोग, गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षा विपरीतको परिणाम, ३५ वर्षमा ३२ वटा सरकार परिवर्तन हुनु जस्ता संरचनागत कमजोरीले जनतामा उब्जेको आक्रोश, जेनजी युवा आन्दोलन र डिजिटल युगमा नयाँ शक्तिहरूलाई पुगेको ‘प्रतिक्रियात्मक लाभ’ रहेका छन् ।
बैठकले नेपाली कांग्रेस अब पूर्णरूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय गरेको छ । सोही महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र संगठनात्मक पुन:संरचना गरिने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकले मध्यपूर्वमा जारी युद्धका कारण असुरक्षित रहेका लाखौँ नेपालीको सुरक्षा सुनिश्चित गर्न र इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल मुक्त गरी स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
बैठकले २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने दिवंगत नेता तथा कार्यकर्ताहरूप्रति शोक प्रस्ताव पारित गर्दै १ मिनेट मौन धारण गरेको छ ।
पार्टीले निर्वाचन परिणामलाई पुनर्जागरणको अवसरका रूपमा लिँदै सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ अनुशासित र एकजुट भएर अघि बढ्न आह्वान गरेको छ ।




प्रतिक्रिया