प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेटवार्ता

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच आईतबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरूपमा निकास भएकोमा बधाई ज्ञापन गरेका छन् ।

‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टीमलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

प्रधानमन्त्री कार्कीको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पाएको उनले बताए । ‘विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टीम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ । तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ । हामी पनि सम्झिइरहनेछौँ । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ । तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिएकी छन् । उनले भनिन्, ‘अहिले देश रोएको छ । तपाईँ युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ । चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ उनले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।’