काठमाण्डु– कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त हुँदा दर्जनौँ घाइते भएका छन् ।
वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ जना सेनाका जवान र ११ जना चालक दलका सदस्य रहेको जानकारी दिएका छन्।
अमेरिकामा निर्मित सैनिक ढुवानी विमान सी–१३० हर्कुलिस पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामो नजिक खसेको बीबीसी हो।
घटनास्थलमा खटिएका उद्धारकर्मीहरूले भग्नावशेषभित्रबाट बाँचेकाहरूको खोजी गरिरहेका देखिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
कोलम्बियाका रक्षा मन्त्री पेद्रो सान्चेजले लकहिड मार्टिनद्वारा निर्मित सी–१३० हर्कुलिस विमानले “पुएर्टो लेगुइजामोबाट उडान भर्दै गर्दा सैनिकहरू बोकेको अवस्थामा दुखद दुर्घटना” भएको बताएका छन्।
उनले पेरुको सीमाना नजिक भएको यो घटनालाई “देशका लागि अत्यन्तै दुःखद” बताएका छन्। सान्चेजका अनुसार विमानमा लागेको आगलागीका कारण त्यहाँ रहेका हतियार (गोला–बारुद) विस्फोट भएको थियो।
एएफपीलाई एक सैन्य स्रोतले ५८ जना सैनिक, ६ जना वायु सेनाका कर्मचारी र २ जना प्रहरीको मृत्यु भएको जानकारी दिएको छ।
रायटर्सलाई दुई सैन्य स्रोतहरूले पनि ६६ जनाको मृत्यु भएको बताएका छन्। यो घटना कोलम्बियाको वायु सेनाको पछिल्लो इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा घटनास्थलबाट धुवाँको मुस्लो उठिरहेको र सैनिक बोकेका ट्रकहरू त्यसतर्फ गइरहेको देखिन्छ।
स्थानीय समाचार साइटहरूमा देखिएको भिडियोमा स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई साना मोटरसाइकलको पछाडि राखेर अस्पतालतर्फ लैजाँदै गरेको देखिन्छ।
राष्ट्रपति गुस्ताभो पेत्रोले एक्समा लेख्दै “यो भयावह दुर्घटना…हुनु हुँदैनथ्यो” बताएका छन्।
लामो पोस्टमा उनले आफ्ना सुरक्षा निकायका उपकरण तथा विमान आधुनिकीकरण गर्ने योजनामा “प्रशासनिक समस्याहरू” ले ढिलाइ गरिरहेको आरोप पनि लगाएका छन्।
“अब कुनै ढिलाइ सहन सकिँदैन, हाम्रा युवाहरूको जीवन दाउमा छ,” उनले कारण स्पष्ट नगरी लेखेका छन्। गत महिना, बोलिभियाको वायु सेनाको सी–१३० हर्कुलिस विमान पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २० जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया