बालेनको सत्तारोहणमा धर्मकर्मको रोजाइ ! रामनवमीको छनोट रामराज्यको सन्देश हो ?

बालेनको सत्तारोहणमा धर्मकर्मको रोजाइ ! रामनवमीको छनोट रामराज्यको सन्देश हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुनै औपचारिक संगठन वा पार्टी विना स्वतन्त्र उम्मेदवार बनेर काठमाण्डु महानगरको प्रमुख (मेयर) पदमा निर्वाचित भएको ५ वर्ष पनि नपुग्दै बालेन्द्र शाह ‘बालेन’ चामत्कारिक रूपमा देशको प्रधानमन्त्री बन्दैछन् । देशको एउटा महानगरको मेयरमा रहेर गरेको काम–कारवाहीको प्रभाव देशभर पार्न सफल र त्यसकै प्रभावले जनमत आकर्षित गर्न सफल बालेनले शपथ र पदभार ग्रहणका लागि रामनवमी पर्वको दिन रोजेका छन् ।

हिन्दू पौराणिक मान्यताअनुसार भगवान् श्रीरामको जन्म रामनवमीकै दिन भएको थियो । जसले रावणको अत्याचार अन्त्य गरेको किंवदन्ती शास्त्रमा पढ्न पाइन्छ ।

फागुन २१ गते भएको निर्वाचनको प्रचारप्रसार अभियान पनि बालेनले माता सिताको जन्मभूमि जनकपुरबाट गरेका थिए । जनकपुरको जानकी मन्दिरबाट औपचारिक प्रचार अभियान सुरु गर्नु र रामनवमीकै दिन पदभार ग्रहण गर्नु बालेनको राजनीतिमा संयोग बन्दैछ ।

निर्वाचन परिणाम घोषणा भएर निर्वाचन आयोगले राष्ट्रपति र प्रधानमन्त्रीलाई औपचारिक जानकारी दिइसकेको भए पनि भावी प्रधानमन्त्री बालेनकै आग्रह र इच्छाअनुसार सरकार गठनको कार्य चैत १३ अर्थात् रामनवमीका दिन राखिएको छ । बालेन निकट स्रोतका अनुसार उनले पण्डित र ज्योतिषीहरूसँगको परामर्शमा सत्तारोहणका लागि रामनवमीको दिन रोजेका हुन् ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको कोखबाट चैत्र शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्म भएको थियो । लामो समयसम्म सन्तान नभएपछि राजा दशरथले पुत्रेष्टि यज्ञ गरेका थिए, जसको फलस्वरूप भगवान् विष्णुले मानव अवतार लिएको मानिन्छ । पौराणिक मान्यता अनुसार त्यस समयमा लंकाका राजा रावणको अत्याचार चरम सीमामा थियो । देवता, ऋषिमुनि र साधारण मानिसहरू रावणको त्रासबाट मुक्त हुन चाहन्थे । त्यसैले रावण र अन्य आसुरी शक्तिहरूको संहार गरी धर्मको पुन:स्थापना गर्नका लागि भगवान् विष्णुले यसै दिन धर्तीमा अवतार लिएका थिए । पौराणिक कालमा यसैदिनबाट एक आदर्श पुत्र, आदर्श राजा र आदर्श पतिको रूपमा चिनिने श्रीरामको जीवनलीला सुरु भएको थियो । यस दिनलाई सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ ।

नेपालको वर्तमान सन्दर्भमा पनि राजनीति र प्रशासनमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र अनियमितताको अन्त्य भावी प्रधानमन्त्री बालेन नेतृत्वको सरकारबाट हुने अपेक्षा गरिएको छ । सोही अपेक्षाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावमा झण्डै दुईतिहाइ बहुमत ल्याएको छ ।

रास्वपा वरिष्ठ नेता समेत रहेका बालेनले चैत १३ गते मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार शपथको समय मिलाएर तयारीका लागि राष्ट्रपति कार्यालयलाई आग्रह गरिएको छ ।

शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने भएको छ ।

प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । शुक्रबार दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ ।

भगवान् श्रीरामको शासनकालमा स्थापित रामराज्यलाई पौराणिक इतिहासमा आदर्श राज्य मानिन्छ । बालेनले सत्तारोहणका लागि रामनवमीको दिन रोजेर रामराज्यको सन्देश दिन खोजेका हुन् कि ?