काठमाण्डु – नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल अघि बढाइने बताएका छन् ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासन र संविधान संशोधनलाई कांग्रेसले प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले भने, ‘संविधान संशोधनका लागि अग्रसरता हामीले नै लिएका हौं । यसको स्वामित्व र विकास पनि हाम्रो नेतृत्वमा हुन्छ । त्यसैले यसलाई सर्वपक्षीय छलफलमार्फत अघि बढाउने निर्णय गरेका छौं । जनताको चाहनाअनुसार संविधानलाई समयअनुकूल परिमार्जन गर्दै लैजानुपर्छ ।’
प्रवक्ता चालिसेले बैठकले नवनिर्वाचित सरकारलाई बधाई दिँदै सुशासन र प्रगतितर्फ सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको पनि बताए । कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने उल्लेख गर्दै सत्तामा हुँदा र विपक्षमा हुँदा फरक भाषा प्रयोग नगर्ने स्पष्ट पारे ।
‘नवनिर्वाचित सरकार भोलिदेखि निर्माण हुँदैछ । नवनिर्वाचित दललाई नेतृत्वलाई बधाई दिएका छौं । देश सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस् भन्ने हाम्रो शुभकामना हो । हामी जिम्मेवार प्रतिपक्ष हौ, हामी सत्तामा हुँदा एउटा भाषा र विपक्षमा हुँदा एउटा भाषा होइन,’ उनले भने ।
उनले पार्टीका प्रतिज्ञापत्र साझा एजेण्डाका रूपमा रहेको विश्वास व्यक्त गर्दै देशको विकास र उन्नतिका लागि सकारात्मक सहयोग रहने बताए ।
उनले भने, ‘हाम्रा पनि प्रतिज्ञापत्रहरु छन् ती साझा प्रतिज्ञा हुन् । देशलाई उन्नत बनाउँदै लाने कुरामा हाम्रो पनि सकरात्मक सहयोग हुन्छ ।’
पार्टी सुदृढीकरणका लागि महाधिवेशन प्रक्रिया तत्काल सुरु गरिएको जानकारी दिँदै उनले प्रेमबहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको बताए ।
भातृ संस्थाहरूलाई कागजमा मात्र नभई व्यवहारमा सक्रिय बनाउनुपर्नेमा जोड दिँदै संगठनलाई समयसापेक्ष र व्यवस्थित ढंगले विस्तार गर्न अध्ययन तथा सुझावका लागि महामन्त्रीहरूको संयोजकत्वमा प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।




प्रतिक्रिया