हामीले गल्ती गर्‍यौँ, जनताले सजाय दिए : जनकराज गिरी

हामीले गल्ती गर्‍यौँ, जनताले सजाय दिए : जनकराज गिरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन् ।

विशेष कुराकानीमा उनले संसदमा आफ्नो भूमिका, कांग्रेस भित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका छन् ।

गिरीले निर्वाचनपछि आफू मतदातालाई धन्यवाद दिने कार्यक्रममै व्यस्त रहेको उल्लेख गर्दै शपथग्रहणपछि पुनः जनतामाझ जाने तयारीमा रहेको बताए । ‘अहिले ‘काठमाण्डुमा पार्टीको केन्द्रीय समिति बैठक, संसदीय दलको नेतृत्व चयनलगायतका गतिविधिमा व्यस्त छौँ,’ उनले भने ।

उनका अनुसार लोकतन्त्रमा सत्ता र प्रतिपक्ष दुवै भूमिका महत्वपूर्ण हुन्छन् । कांग्रेसको विगतको अनुभव उल्लेख गर्दै उनले कहिले सत्तामा, कहिले प्रतिपक्षमा रहँदै आएको इतिहास स्मरण गरे ।

‘प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो । सरकारका राम्रा काममा सहयोग गर्ने र गलत बाटोमा गए सचेत गराउने हाम्रो दायित्व हो,’उनले स्पष्ट पारे ।

हाल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको सन्दर्भमा गिरीले नयाँ दलले जनतामा ठूलो अपेक्षा सिर्जना गरेको बताए ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासका मुद्दामा सरकार सफल हुनुपर्नेमा उनले जोड दिए ।

‘सरकारले राम्रा काम गरे हामी पूर्ण सहयोग गर्छौँ, तर संविधान, राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने काम भए कडा रूपमा विरोध गर्छौँ,’ उनले भने ।

उनले पछिल्लो समयको जनआन्दोलन र युवाहरूको असन्तुष्टिले नयाँ राजनीतिक शक्तिहरूलाई अवसर दिएको विश्लेषण गरे । पूराना दलहरूको कमजोरी स्वीकार गर्दै उनले भने, ‘हामीले विगतमा सुशासन, सेवा प्रवाह र रोजगारी सिर्जनामा अपेक्षित काम गर्न सकेनौँ । ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।’

गिरीले दैनिक हजारौँ युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिनु ठूलो चुनौती भएको उल्लेख गर्दै मुलुकभित्रै अवसर सिर्जना गर्न आवश्यक रहेको बताए । साथै, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।

कांग्रेसभित्रको आन्तरिक अवस्थाबारे बोल्दै गिरीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र त्यसलाई वैधानिक मान्यता प्राप्त भइसकेको बताए । गगन कुमार थापा नेतृत्वलाई बहुमत प्रतिनिधिको समर्थन रहेको उल्लेख गर्दै उनले केही असन्तुष्टि भए पनि आगामी नियमित महाधिवेशनमार्फत पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरे ।

उनले सामाजिक सञ्जाल नियन्त्रणका विषयमा पनि सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताए । ‘नियमन आवश्यक छ, तर पूर्ण बन्द गर्नु उचित हुँदैन,’ उनले भने ।

गिरीले प्रतिपक्षमा रहेपनि जनताका मुद्दामा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । ‘सरकारमा नहुँदैमा जनताका समस्या बेवास्ता हुँदैनन् । राष्ट्रिय हित र जनजीविकाका सवालमा कांग्रेस सँधै अग्रसर रहनेछ,’उनले बताए ।