काठमाण्डु – चीनका प्रधानमन्त्री ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।
चिनियाँ प्रधानमन्त्री लीले शनिबार नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् ।
बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी देशहरू भएको र कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा दुई राष्ट्रहरूले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूद्वारा निर्देशित द्विपक्षीय सम्बन्ध विकास गरेको कुरामा जोड दिएको काठमाण्डुस्थित चिनियाँ राजदूतावासद्वारा सामाजिक सञ्जाल फेसबुकमा जारी सूचनामा उल्लेख छ ।
यस्तै उनले नयाँ सरकारलाई चीनको समर्थन रहेको र नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको लागि निरन्तर समर्थन रहने पनि बताएका छन् ।
चिनियाँ प्रधानमन्त्री लीले बेल्ट एन्ड रोड इनिसिएटिभलाई संयुक्त रूपमा अगाडि बढाउन र उच्च स्तरमा धेरै क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न तयार रहेको समेत सन्देशमा उल्लेख गरेका छन् ।
यस्तै चीनका विदेशमन्त्री वाङ यीले पनि नवनियुक्त विदेशमन्त्री शिशिर खनाललाई बधाई दिएका छन् ।
दूतावासद्वारा सामाजिक सञ्जाल फेसबुकमा जारी सूचनाअनुसार चिनियाँ विदेशमन्त्री यीले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी रहेको र १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्ध निरन्तर विकास गर्दै आएको जनाएका छन्।
उनले दुवै पक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई संयुक्त रूपमा कार्यान्वयन गर्न र नयाँ प्रगति हासिल गर्न विकास र समृद्धिका लागि स्थायी मित्रता सहितको चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई अगाडि बढाउन नवनियुक्त मन्त्री खनालसँग काम गर्न तत्परता व्यक्त गरेका छन्।
यसबीच प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफलाई धन्यवाद पठाएका छन् ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई दुवै देशका प्रधानमन्त्रीहरूले बधाई तथा शुभकामना दिएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले दिएका शुभकामना र सदभावनापूर्ण सन्देशप्रति आभार प्रकट गर्दै नेपालले दुवै देशबिचको बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका छन् ।
पाकिस्तान सरकारसँग दुई पक्षीय सम्बन्ध तथा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउँदै जनताको प्रगति र समृद्धिका लागि सँगै काम गर्ने अपेक्षा राखेको समेत शाहले बताएका छन् ।






प्रतिक्रिया