ओली र लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति

ओली र लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विषयप्रति गम्भीर आपत्ति जनाएकी छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले सरकारको कदमलाई अपरिपक्व र प्रतिशोधपूर्ण भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेकी हुन् ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारद्वारा गठित जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन आफैँमा पूर्ण नभएको र यसको कार्यान्वयनमा हतारो गरिएको भण्डारीको जिकिर छ । सरकार गठन भएको पहिलो दिनमै विपक्षी दलका नेता र पूर्वगृहमन्त्रीलाई पक्राउ गरिनु वर्तमान संविधान, प्रचलित कानुन र स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने उनको तर्क छ ।

विधि र प्रक्रिया मिचेर हतारमा गरिने यस्ता निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउने र मुलुकलाई पुन: द्वन्द्व एवं अस्थिरतातर्फ धकेल्ने जोखिम बढ्ने विज्ञप्तिमा भनिएको छ ।

सुशासनलाई मुख्य एजेन्डा बनाएको वर्तमान सरकारबाट यस्तो दु:खद कदम चालिनु आश्चर्यजनक रहेको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले संवैधानिक मर्यादाको सम्मान गर्दै निर्णय फिर्ता लिन र संयमता अपनाउन सरकारलाई आह्वान गरेकी छन् ।

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति र घटनाहरूको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले दोषी देखिएका व्यक्तिहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सुरक्षा निकायले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएपछि राजनीतिक वृत्तमा हलचल पैदा भएको छ ।

Screenshot