केपी ओलीको गृहजिल्ला झापामा सरकारविरुद्ध सडक आन्दोलन

केपी ओलीको गृहजिल्ला झापामा सरकारविरुद्ध सडक आन्दोलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड – झापामा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ ।

जनसंगठनहरूले बिर्तामोडको मुक्तिचोकमा शनिबार बालेन सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

गैरकानूनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता–कार्यकर्ताले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्‍याली गर्दै विरोध जनाएका हुन् । र्‍यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरूलाई गरिएको धरपकडविरुद्ध एमाले सडकमा आएको छ ।

ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको छ । मुक्तिचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले विदेशीको इसारामा बनेको सरकारलाई तत्काल गल्ती सच्याउन चेतावनी दिए ।

उनले देश नियम–कानूनले चलाउन सुझाव दिँदै दुईतिहाइको दम्भ नदेखाउन सुझाव दिए । विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साध्ने काम भए महंगो पर्ने उनको भनाइ थियो ।

शान्तिपूर्ण आन्दोलनबाट एमालेको माग पूरा नभए सडकबाटै सत्ताच्यूत गराइदिने नेताहरूले चेतावनी दिए । पार्टी केन्द्रको निर्देशन बमोजिम एमालेले निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।