काठमाण्डु – सरकारले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्ने भएको छ ।
जेन जी आन्दोलनको क्रममा जलेको देउवाको घर समेत प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ।
भदौ २४ गते प्रदर्शनकारीहरूले देउवालगायत अन्य व्यक्तिका घरमा आक्रमण गर्दा त्यहाँ ठूलो मात्रामा नगद फेला परेको विषय बाहिरिएको थियो। उक्त रकमको स्रोत र अवस्थाबारे थप स्पष्ट हुनुपर्ने भन्दै गौरी बहादुर कार्की नेतृत्वको आयोगले यसलाई कानुनी अनुसन्धानको दायरामा ल्याउनुपर्ने सिफारिस गरेको छ ।
सरकारमा हुँदा सत्ताको आडमा रहेर अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।
अनुसन्धानका क्रममा पछिल्लो समय छोरा जयवीर देउवा लगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ।
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगले देउवासहितका नेताहरूको घरमा भेटिएको रकमबारे प्रश्न उठाएको छ।
आयोगले आफ्नो प्रतिवेदनमार्फत देउवाको घरमा आक्रमण हुँदा फेला परेको जलेको वा नजलेको अवस्थाको रकमबारे कानुनबमोजिम विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।




प्रतिक्रिया