काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको १०० बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन् ।
आईतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य कार्यव्यस्तताका कारण कार्यसूची अध्ययन गर्न नभ्याएको बताए ।
उनले भने, ‘अरु कार्यव्यस्तताले गर्दा सरकारको १०० बुँदे कार्यहरू हेर्नै पाएको छैन । हेरेपछि भनौंला ।’
सम्पत्ति छानबिनको विषय आफूहरूले पहिल्यै उठाएको स्मरण गराउँदै उनले प्रतिनिधि सभाको बैठकमै सबैको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेको बताए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले कुनै पनि विषयमा राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सम्पत्ति छानबिनको कुरा हामीले भनेकै कुरा हो । पहिले नै प्रतिनिधि सभाको बैठकमा भनेको थिए सबैको सम्पत्ति छानबिन होस् भनेर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा कहीँकतै राजनीतिक पूर्वाग्रह नहोस्, निष्पक्षता कामय होस् र स्वतन्त्र ढंगले होस् भन्ने कुरा भनिसकेका छौं ।’




प्रतिक्रिया