काठमाण्डु – नेपाली कांग्रेसको आधिकारिता विवाद अदालतमा विचाराधीन रहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधिमा सक्रिय भएका छन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ।
देउवा पक्षले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक मंष्लबार बोलाएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्दैछ ।
तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेका हुन्। बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने छ।
बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
यसैबीच, खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन् ।
देउवा–शेखर समूहले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम गरेको थियो ।
मंगलबार बस्ने बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता लेखक र अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गरिनेछ ।
ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग–अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए। संस्थापन पक्षले गत २३ र २४ भदौका दुवै घटनाका दोषीउपर विधि र पक्रियासम्मत तरिकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ।
तर, देउवा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रतिशोध भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ।
देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेस सभापति थापा पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यबाहक सभापति खड्काले सर्वोच्त अदालतमा रिट दायर गरेका छन्। उक्त रिटको पेसी चैत २२ गते हुँदैछ ।




प्रतिक्रिया