काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुदूरपश्चिमको गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा आफू अहिले नै हस्ताक्षर गरेर दिन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँगको छलफलमा बालेनले गेटाको विश्वविद्यालयमा काम गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूले गेटाको विषयलाई प्राथमिकतामा राख्न जोड दिएका थिए । त्यसपछि बालेनले भने, ‘गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु । कहिले गरौँ ?’
छलफलमा सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका छन् । उनीहरूले कैलाली–खक्रौला नाकादेखि चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् ।
छलफलमा एमाले सांसद ऐनबहादुर महरले कर्मचारीतन्त्रका कारण समग्र प्रणाली कमजोर बनेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री बालेनले कांग्रेस–एमालेले नै कर्मचारीतन्त्र सुधारको सुरुआत गर्नुपर्ने जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘यसको जड नै तपाईंहरू हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस् ।’




प्रतिक्रिया