काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीनको औपचारीक भ्रमणमा जाने भएका छन् । परराष्ट्रस्रोतकाअनुसार महरा अगस्टको अन्तिमतिर चीन जाने तयारीमा जुटेका छन् । “महराको चीन भ्रमणको टुङगो लागिसकेको छ, तर समय अझै यकिन भएको छैन् सायद अगष्ट २९ वा ३० मा हुन्छ होला । ” परराष्ट्रमन्त्री निकट स्रोतले काठमाण्डौपाटीलाई भन्यो ।
वेइजिङस्थित दूतावास स्रोतकाअनुसार मन्त्री महराको भ्रमणको तयारी गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ । यसपटकको भ्रमण द्धिपक्षीय हितका साथै यसअघि भएका सम्झौतालाई लागु गर्ने विषयमा केन्द्रित हुनेछ । यसका साथै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको ट्रेड एण्ड ट्रान्जिटसम्वन्धी सम्झौताअनुसार यसपटक ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम छ । वाणिज्य मन्त्रालयले यससम्वन्धी गृहकार्यलाई अन्तिम चरणमा पुरयाएको छ । यसअघि मन्त्रालयले पठाएको ड्राफ्टलाई परराष्ट्रले फिर्ता पठाएपछि त्यसमा थप गृहकार्य भएको मन्त्रालय स्रोतले बतायो ।
“खासगरी परराष्ट्रमन्त्री महराको भ्रमणको दौरानमा विगतमा चीनसंग भएका सम्झौतालाई लागु गर्ने विषयमा केन्द्रित हुन्छ, नया सम्झौताको रुपमा ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर हुने सम्भावना पनि छ । ” मन्त्री निकट स्रोतले भन्यो । चिनिया उपप्रधानमन्त्री एवंम् चिनिया कम्युनिष्ट पार्टीका उच्च तहका नेता वाङ योङ आगामी अगष्ट १४ मा तीन दिने भ्रमणको लागी नेपाल आउन लागेको बेला भ्रमणबारे थप छलफल हुने वुझिएको छ । उनि उपप्रधानमन्त्री एवंम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा काठमाण्डौ आउन लागेका हुन ।
पुर्ननिर्माणसम्वन्धी सहयोग सम्झौतामा हस्ताक्षर गर्न योङ नेपाल भ्रमणमा आउन लागेको भनिएपनि उनको भ्रमण भने भारतसंगको डोक्लाम विवादपछि नेपालको साथ खोज्ने उद्देश्यमा भ्रमण केन्द्रित रहेको उच्च स्रोतको भनाई छ । परराष्ट्रमन्त्रालयका प्रवक्ता सहसचिव भरत पौडेलले यससम्वन्धी आधिकारीक जानकारी भए मन्त्रालयले नै अवगत गराउने बताए ।
चीनले डोक्लाम विवादपछि कुटनैतिक रुपमा सवै छिमेकी मुलुकहरुसंग छलफल सुरु गरिसकेको छ । भारतसंग चीनले भारतिय सेना नहटाएसम्म औपचारीक रुपमा सम्वाद नगर्ने जनाइसकेको छ । केही समयअघि भारतिय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा जादा समेत चिनिया तर्फबाट कुनै पनि उच्चस्तरका नेताले उनलाई भेट दिएनन् ।
चीनसंगको विवाद बढेपछि चिनिया मामलाका जानकार समेत मानिएका विदेश सचिव एस जयशंकर पनि चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर चिन जान लागेका विदेश सचिव जयशंकरलाई चिनिया विदेशमन्त्रीले भेट्ने सम्भावना रहेको चिनिया संचारमाध्यमले जनाएका छन् ।
परराष्ट्रमन्त्रालयका एक उच्च अधिकारीकाअनुसार चीनिया उपप्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा वान वेल्ट वान रोड परियोजनालाई कसरी अगाडी बढाउने भन्ने वारेमा छलफल हुनुको साथै डोक्लाम विवादमा नेपालको समर्थन खोज्नेमा केन्द्रित हुनेछ । भारतिय मिडिया टाइम्स अफ इण्डियाकाअनुसार भारतस्थित चिनिया दूतावासका “डेपुटि चिफ अफ मिसन” ले यसै साता दिल्लीस्थित नेपाली दुतावासका डिसिएमलाई भेटेर डोक्लाम प्रकरणबारे नेपालको पोजिसनबारे चासो व्यक्त गरेका छन् ।
चीन र भारतविच विवाद चर्किरहेको बेला दुवै देशले अनौपचारीक रुपमा नेपालको समर्थनको लागी तिव्र लविङ सुरु गरेको उच्च स्रोतको दावी छ । यसैविचमा भारतिय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल भ्रमणमा आउन लागेकी छन् ।
डोक्लामा प्रकरणमा चीन र भारतविच विवाद बढेपछि चीनको परराष्ट्रमन्त्रालय आफु मातहतको थिङक ट्याङक संस्था इन्टरनेशनल थिङक ट्याङक फोरमले नेपालसहित संसारमा धेरै देशका वुद्धिजिवीलाई चीन बोलाएर छलफल गर्ने तयारी गरेको वुझिएको छ ।




प्रतिक्रिया