काठमाण्डु– गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भएको विध्वंसमा संलग्न देशभरका १९१ जना थुनामा रहेको पाइएको छ ।सुरक्षा अधिकारीहरूका अनुसार काठमाण्डू उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता गरिएको हो ।
विभिन्न आपराधिक घटनासँग जोडिएका ९६३ जना अभियुक्त चैत १५ गतेसम्म पक्राउ परेको र तीमध्ये १९१ जना पुर्पक्षका लागि अझै थुनामा रहेको प्रहरीले जनाएको छ। बाँकी ४७४ जना धरौटीमा छुटेका छन् । त्यसबाहेक ४७४ जना धरौटीमा रिहा भएका थिए भने २२ जना साधारण तारिखमा र २३९ जना हाजिरी जमानीमा छुटेका छन् ।
नेपाल प्रहरीले बीबीसीलाई दिएको जानकारी अनुसार पक्राउ परेकामध्ये झन्डै ७०० जनालाई आपराधिक उपद्रवको कसुरमा मुद्दा लगाइएको छ भने २० जनाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको छ ।
भदौ २४ गतेको घटनासँग सम्बन्धित विभिन्न १३ थरीका कसुरमा ९६३ जनामाथि मुद्दा चलाइएको छ।आपराधिक उपद्रव शीर्षकमा ८०२ वटा मुद्दा दर्ता भएका छन्। उक्त कसुरमा प्रहरीले ६९१ जनालाई पक्राउ गरेको थियो जसमध्ये २०३ जना अभियुक्त काठमाण्डुमा पक्राउ परेका थिए।
यस्तै कर्तव्य ज्यान शीर्षकमा ४ वटा मुद्दा दर्ता गराइएको छ भने २० जना अभियुक्त पक्राउ परेका छन् । उक्त अभियोगमा काठमाण्डूमा ३ वटा मुद्दा दर्ता गरिएको र १८ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। त्यसबाहेक धादिङमा २ जनालाई पक्राउ गरिएको थियो र उक्त कसुरमा एउटा मुद्दा चलाइएको छ।
त्यसबाहेक हतियार खरखजनामा ३०, अभद्र व्यवहारमा ३३, ज्यान मार्ने उद्योगमा ४, डाँका तथा चोरीमा ३९, कारागार ऐन २०७९ सम्बन्धी कसुरमा २, आगजनी तोडफोडमा ४, भवितव्य ज्यानमा ४, लागुऔषधमा १, विद्युतीय कसुर तथा साइबर अपराधमा १ र आत्महत्या दुरुत्साहनमा १ मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।
डाँका तथा चोरीमा ७८ जना, हतियार तथा खरखजनामा ६७ जना, अभद्र व्यवहारमा ५९ जना र ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ परेको तथ्यांकमा उल्लेख छ ।




प्रतिक्रिया