काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतलाई उच्च अदालत पाटनबाट राहत हुने फैसला भएको छ ।
उनी विरुद्धको मुद्दा तामेलीमा राख्ने भनी जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गरेको निर्णयविरुद्ध उच्च अदालतमा दायर रिट बुधबार खारेज भएको छ ।
उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बुधबार उत्प्रेषणको रिट खारेज हुने फैसला गरेको छ । बस्नेतविरुद्ध एक महिलाले कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
रिट खारेज भएपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत दु:ख अन्त्य भएको जनाएका छन् । उनले लेखेका छन्, ‘एउटी फेक र चरित्रहीन महिलाले विगत ३ वर्षदेखि दिँदै आएको दु:ख आजबाट अन्त्य भएको छ । झूटा मुद्दा र बनावटी विवरण पेश गरेर राजनीतिक आग्रह बोकेका केही व्यक्तिहरूको उक्साहटमा ममाथि लगाइएका आरोपहरू पहिलो पटकमै खारेज भएका थिए । त्यसपछि पूरक जाहेरीका नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालत पाटनबाट खारेज भएको छ । यस अवधिमा मेरो चरित्रहत्या गर्ने, मेरो परिवार र मसँग जोडिएका साथीहरूलाई अनावश्यक दु:ख दिने, अदालतको समेत मानहानि गर्ने जस्ता कुकर्महरू भएका छन् । पछिल्लो समयमा त कथित गृहमन्त्री सुदन गुरुङको निर्देशनमा मलाई गिरफ्तार गर्ने दुष्प्रयास समेत गरिएको थियो । यी सम्पूर्ण घटनाहरूविरुद्ध म कानुनी उपचार अवश्य खोज्नेछु ।’




प्रतिक्रिया