रौतहट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचाहरू वर्तमान सरकारले पूरा गर्ने बताएका छन् ।
बुधबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावका बेला सार्वजनिक गरिएको वाचापत्रअनुसार नै सरकार अघि बढ्ने दाबी गरे ।
‘हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौँ, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौँ,’ लामिछानेले भने ।
सिमरा हुँदै वीरगञ्ज आइपुगेका लामिछानेले बुधबारै पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन् । उनीविरुद्ध पर्सामा दर्ता भएको सानो पाइला सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा तारेख बुझ्न उनी अदालत पुगेका हुन् ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेख बुझेका छन् । अदालतमा उपस्थित भएर प्रक्रिया सकेलगत्तै उनी अपराह्न काठमाण्डु फर्किएका छन् ।
लामिछानेको उपस्थितिलाई मध्यनजर गर्दै बुधबार बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।




प्रतिक्रिया