काठमाण्डु – राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ ।
बैठक अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको हो ।
बैठकले बुधबारदेखि सुरु हुने राष्ट्रिय सभाको २०औँ अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ । राष्ट्रियसभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूलाई विभिन्न समितिमा विभाजन लगायतका विषयमा पनि विचार–विमर्श गरिएको थियो ।
छलफलका क्रममा सभाको आगामी बैठकको कार्यसूची, बैठक कक्षको सिट योजना तथा प्रस्तावित कार्यतालिकाका विषयमा निर्णयात्मक छलफल भएको समितिले जनाएको छ । कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको चयन, उपाध्यक्ष र सभापतिको निर्वाचन प्रक्रिया लगायतका विषय पनि बैठकको एजेन्डामा समेटिएका थिए ।
यसैगरी, विभिन्न दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्नका लागि समय निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा अन्य विविध विषयहरूमा समेत विचार आदानप्रदान गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशनलाई सफल बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको आवश्यकता औंल्याए । उनले सहकार्य र सहजीकरणका लागि सबै पक्षलाई आग्रह गरेका छन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसद्का महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति थियो ।




प्रतिक्रिया