काठमाण्डु – नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र संकुचित र कमजोर भएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् ।
संसदीय दलको नेता चयनका क्रममा देखिएको वातावरणलाई लिएर उनले पार्टीको वर्तमान कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका हुन् ।
संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोज्ने युवा सांसदले प्रस्तावक र समर्थक समेत नपाउने स्थिति सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद भएको पाण्डेको ठहर छ । उनले पार्टीभित्र गुटगत घेराबन्दी बलियो भएको संकेत गर्दै नयाँ र सम्भावना बोकेका नेताहरूलाई नेतृत्वमा आउनै नदिने वातावरण बनाइएको आरोप लगाए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै पाण्डेले ‘म नै पार्टी र पार्टी नै म’ भन्ने भ्रममा नेतृत्व बाँचेको आरोप लगाए । उनका अनुसार निर्वाचनमा व्यहोरेको गम्भीर पराजयलाई समेत सामान्य ठानेर सुधारको ढोका बन्द गरिएको छ ।
‘यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमाले इतिहासकै कमजोर अवस्थामा पुगेर ९ सिटमा खुम्चिँदा समेत नेतृत्वको चेत नखुलेकोमा उनले आश्चर्य प्रकट गरे । पुरानो ढर्रा र गुटगत राजनीतिले अब पार्टी चल्न नसक्ने उनको दाबी छ ।
पाण्डेले एमालेलाई आमकार्यकर्ता र जनताको साझा संस्था बनाउनका लागि साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य भएको बताएका छन् ।




प्रतिक्रिया