कांग्रेसले कहिले गर्ला संसदीय दलको नेता चयन ?

कांग्रेसले कहिले गर्ला संसदीय दलको नेता चयन ?

सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा कांग्रेसमा आन्तरिक विवादले ढिलाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत फागुन २१ गते भएको निर्वाचनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले आ–आफ्नो पार्टीको संसदीय दलको नेता चुनिसकेको छ ।

तर निर्वाचनमा दोस्रो दल बनेको नेपाली कांग्रेस आन्तरिक विवादमा फस्दा आफ्नो दलको नेता चुन्न सकेको छैन ।

संसद्मा ६ दलको प्रतिनिधित्व छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एमाले), नेपाली कम्युनिगट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयन भएको छैन ।

नवनिर्वाचित संघीय संसद्को पहिलो बैठक बिहीबारबाट सुरु भएको छ । पहिलो दिनको बैठकमा सबै दलका संसदीय दलका नेता तथा शीष नेताले सम्बोधन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पार्टीको तर्फबाट शाह नै संसदीय दलको नेता बनेका छन् । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भएपछि रास्वपाबाट शाह संसदीय दलको नेता हुँदै प्रधानमन्त्री चयन भएका हुन् ।

संसद्को दोस्रो ठुलो दल एमालेले बुधबार उपाध्यक्ष रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । उनी निर्विरोध दलको नेता भएका हुन् ।

यस्तै तेस्रो ठुलो दल नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेतामा चयन गरेको छ । राप्रपाले ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई दलको नेता बनाएको छ ।

रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाह झापा–५बाट निर्वाचित भएका हुन् । एमालेका उपाध्यक्ष बादल समानुपातिक सांसद् हुन् ।

यस्तै नेकपाका अध्यक्ष प्रचण्ड रुकुम पूर्वबाट निर्वाचनमा विजयी भएका हुन् । श्रम संस्कृतिका अध्यक्ष साम्पाङ सुनसरी–१बाट विजयी भएका हुन् भने राप्रपाका प्रवक्ता शाही जुम्लाबाट निर्वाचित भएका हुन् ।

सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा दोस्रो ठुलो दल कांग्रेसमा आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले बिहीबार संसद्को पहिलो बैठकमा नेता भीष्मराज आङदम्बेले बोलेका छन् ।

निर्वाचनलगत्तैदेखि सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यसै कारण पनि संसदीय दलको नेता चयन प्रभावित भएको कांग्रेस नेताहरूको भनाइ छ ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नामसमेत दल नेतामा चर्चामा छ । तर दलको नेता कसलाई बनाउने विषयमा कांग्रेस अनिर्णित छ ।

संसदीय दलको नेताका साथै दलहरूले उपनेता, मुख्य सचेतक र सचेतक चयन गर्नुपर्ने हुन्छ । कांग्रेसबाहेक सबै दलले संसदीय दलको नेता चयन गरिसके पनि उपनेता, मुख्य सचेतक र सचेतक भने अहिलेसम्म कसैले चयन गरेका छैनन ।

संसद्मा सभामुख र उपसभामुख निर्वाचन पछि मात्र उपनेता, मुख्य सचेतक र सचेतक चयन गरिने दलहरूको भनाइ छ ।