काठमाण्डु – एमाले संसदीय दलको नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभाको पहिलो बैठकमा व्यक्त गरेको अभिव्यक्तिले पार्टी भित्र तरंग उत्पन्न भएको छ ।
थापाले दिएको विवादास्पद अभिव्यक्तिप्रति पार्टीभित्र असन्तुष्टि बढेपछि सचिवालय बैठक डाकिएको छ ।
थापाले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति पार्टीभित्र असन्तुष्टि बढेपछि सचिवालय बैठक डाकिएको हो ।
शुक्रबार बस्ने सचिवालय बैठकमा थापाको अभिव्यक्तिका विषयमा गम्भीरतापूर्वक छलफल हुने एक नेताले बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा संसदीय दलको नेता थापाले बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा व्यक्त गरेको अभिव्यक्तिबारे छलफल हुने ती नेताले बताए ।
पार्टी उपाध्यक्ष समेत रहेका थापाले नेपाली सेना, सरकारी कर्मचारी लगायतमाथि आरोप लगाउँदै प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए । एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी उनले नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए।
थापाले गत फागुन २१ गतेको निर्वाचनमा एमाले पराजय हुनुमा नेपाली सेना, कर्मचारी वर्ग, बारबरा फाउन्डेसन र विदेशी पक्षले भूमिका खेलेको आरोप लगाएका थिए । उनको यो अभिव्यक्तिले पार्टीमा अहिले भूकम्प ल्याएको छ।
यस विषयमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले थापाको भनाइ पार्टीको स्थापित नीति र मान्यता विपरीत भएको तथा त्यसबारे पार्टीभित्र छलफल हुने प्रतिक्रिया दिएका छन्।
उपाध्यक्ष पौडेलले बिहीबार नै सामाजिक सञ्जालमा लेख्दै थापाको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको, अभिव्यक्ति पार्टीको नीति र विचारसँग नमिल्दो रहेको जनाएका थिए । उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डे लगायतले पनि थापाको भनाईप्रति आपत्ती जनाएका छन् ।
पार्टी नेतृत्वको चर्को दबाबमा बुधबार संसदीय दलको नेता चयन भएका बादलले पार्टीको नीति विपरीत बोलेको भन्दै कारबाही गर्न पार्टीभित्र आवाज पनि उण्ठेको छ ।
नेता सुरेन्द्र पाण्डेले पनि थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम बन्द गर्न आग्रह गरेका छन् । भदौ २३–२४ छानबिन हुनुपर्नेमा सहमति जनाउँदै नेता पाण्डेले एमालेको राजनीतिले जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने स्पष्ट बताएका छन् ।
उनले भनेका छन्, ‘हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो (सबै दोष अरूलाई) हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो घेराबन्दीमा पर्यौँ भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’
संसदीय दलको नेतामा प्रतिनिधिसभामा निर्वाचित सांसद एवं युवा पुस्ताका नेता सुहाङ नेम्वाङले दाबी गरे पनि पदाधिकारीहरूको दबाबमा नेम्वाङले उम्मेदवारी दर्ता गर्न नपाएको र उपाध्यक्ष थापा दलको नेता चयन भएको भन्दै पार्टीभित्र असन्तुष्टि व्यक्त भएको छ।
युवा पुस्ताले राजनीतिक अगुवाइ गर्नुपर्छ भन्ने भावनाले स्थान पाइरहेका बेला संसदीय दलमा युवा सांसद नेम्वाङलाई नेता चयन गर्ने अवसर एमाले नेतृत्वले गुमाएको एमालेभित्र कुरा उठेको छ।
संसदीय दलको नेता चयनको सन्दर्भ सेलाउन नपाउँदै कार्यवाहक अध्यक्षसमेत रहेका नेता थापाले संसदमा दिएको अभिव्यक्तिलाई पार्टीको नीति र विचारसँग नमिल्दो भनी पार्टी भित्रैबाट आलोचना भएको छ।




प्रतिक्रिया