काठमाण्डु – फेवातालको जग्गा प्रकरणमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको नैतिकतामा प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साम्पाङले गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई नमज्जा लागेको भन्दै यस विषयामा प्रष्ट पार्न पनि आग्रह गरेका छन् । ‘यस विषयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दछु’, उनले लेखेका छन् ।
साम्पाङले यसलाई नैतिकताको सवाल भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर्न छोड्ने चेतावनी पनि दिएका छन् ।
आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको बताउँदै उनले आफ्ना प्रश्नहरू व्यक्तिगत नभई नितान्त व्यावसायिक र कानुनी रहेको स्पष्ट पारेका छन् ।
साम्पाङले सदनमा आफूले उठाएका दुई मुद्दा नबिर्सन गृहमन्त्री गुरुङलाई स्मरण गराएका छन् । ती मुद्दाहरूमा जेनजी आन्दोलनको क्रममा चैत २४ गतेको घटनाका दोषीलाई कारबाही र जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिने छन् ।
‘काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै काम गर्ने क्रममा,’ साम्पाङले लेखेका छन्, ‘तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ’
साम्पाङले गृहमन्त्री गुरुङलाई दाजुले दिएको सल्लाह सम्झेर आफ्नो कुरा मान्ने आशा व्यक्त गरेका छन् । उनले एक दिन गृहमन्त्री गुरुङलाई हृदयदेखि नै बधाई दिने र त्यो दिन चाँडै आओस् भन्ने कामना पनि गरेका छन् ।





प्रतिक्रिया