काठमाण्डु – समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र वाम एकताको बहसलाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा नेताहरूबिच गहन छलफल भइरहेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता जगनाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक परिस्थितिदेखि लिएर निर्वाचन समीक्षा, आगामी कार्ययोजना, कार्यदिशा तथा संगठनात्मक एकताको विषयमा गहन छलफल भइरहेको बताएका छन् ।
उनका अनुसार बैठक तेस्रो दिनसम्म आइपुग्दा सीमित संख्यामा मात्र सदस्यहरूले धारणा राखेका छन् भने मुख्य रूपमा सुझाव संकलनमा जोड दिइएको छ । उनले पार्टीले यसअघि नै तय गरेका एजेण्डाहरूमा केन्द्रित रहेर छलफल भइरहेको उल्लेख गर्दै आगामी दिनमा थप सदस्यहरूको धारणा सुनेपछि मात्र ठोस निर्णयमा पुगिने बताए ।
खतिवडाले विशेषगरी पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारणबारे गम्भीर समीक्षा भइरहेको बताए । उनले नेपालको भूराजनीतिक संवेदनशीलता, जटिल राजनीतिक परिस्थिति तथा कम्युनिस्ट आन्दोलनले आगामी दिनमा लिनुपर्ने रणनीतिबारे नेताहरूको ध्यान केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
‘मूलत: नेकपाले यसपालीको निर्वाचनमा पराजित हुनुपर्ने कारणहरू नेपालको भूराजनीतिक संवेदनशीलताको जटिलताको परिस्थिति र नेपाली कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले लिनुपर्ने आगामी बाटोको विषयमा सबैको ध्यान केन्द्रित छ,’ उनले भने ।
बैठकले पार्टी संगठनको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । संगठनात्मक एकताको सुदृढीकरण, संरचनागत व्यवस्थापन तथा कार्यकर्ताको भूमिका प्रभावकारी बनाउने विषयमा विभिन्न सुझावहरू संकलन भइरहेको उनले जानकारी दिए ।
‘पार्टी संगठनको व्यवस्थापन गर्ने कुरा हाम्रो नियमित कार्य अन्तर्गतको अनिवार्य काम हो । त्यो कामलाई व्यवस्थापन गर्न थुप्रै सुझाव संकलन गर्ने काम मात्र गरेका छौ । आजसम्म पनि र भोलि पनि यहीँ सुझाव केन्द्रित संयोजन समितिका सदस्यहरूको सुझाव संकलन गर्ने विचार कार्यक्रम चल्नेछ, अनि मात्र ठोस निर्णय गर्ने दिशा तिर जाने छौं,’ उनले भने ।
अर्का नेता राजेन्द्र कुमार राईले वाम एकताको विषयमा पार्टीको धारणा स्पष्ट पार्दै विचार मिल्ने शक्तिहरूबिच एकता आवश्यक रहेको बताए । उनले वामपन्थी शक्तिहरूबिच विगतमा सिद्धान्त र व्यवहारगत असमानताका कारण दूरी बढेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पहल आवश्यक रहेको धारणा राखेका छन् ।
राईले वाम एकताको पहल अहिलेको संकटका कारण मात्र नभई पहिलेदेखि नै सुरु भएको प्रक्रिया भएको बताए । उनले आगामी दिनमा पनि वाम शक्तिहरूलाई एकताबद्ध बनाउन पार्टीले सक्रिय भूमिका खेल्ने संकेत गरेका छन् ।
बैठक अझै केही दिन सञ्चालन हुने र सबै सदस्यहरूको सुझाव संकलनपछि मात्रै पार्टीले ठोस निर्णय सार्वजनिक गर्ने तयारी गरिएको नेकपाले जनाएको छ ।




प्रतिक्रिया