दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सञ्चालन

दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन २०८२ सञ्चालन भएको छ ।

मुख्य सम्मेलन केन्द्र, नम्बर ३ बाहिनी अड्डा, खैरेनीटारमा प्रधानसेनापति अशोक राज सिग्देल र अन्य ५ वटा उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा सञ्चालन भएको सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब १० हजार अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका साथ सञ्चालन भएको सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिला र ४ जना सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने २ जना अभिभावकलाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा फरक क्षमता भएका तथा अशक्त १३ जना भूतपूर्व सैनिकहरूलाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।

कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरू बिचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव संकलन गरी हिताधिकारीहरुलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यस वर्षको भूतपूर्व सैनिक सम्मेलनको तेस्रो तथा अन्तिम चरणको कार्यक्रम मध्य पूर्वी पृतना अन्तर्गतका जिल्लाहरू मिति २०८३ वैशाख ३ र ५ गते आयोजना हुने कार्यक्रम रहेको छ ।